काठमाडौं । प्रहरीले १२ बर्ष पुरानो रानीबारी हत्याकाण्डका दुई जना आरोपीलाई सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले गत शुक्रबार साईलेन्स सर्च अपरेसन गरी पक्राउ गरेका दुइ जना अभियुक्तलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुमा दोलखा घर भई हाल काठमाडौंको सामाखुशीमा बस्दै आएका साल्सा डान्स बारका सञ्चालक मनराज गुरुङ र रामेछाप घर भई हाल जोरपाटी बस्दै आएका प्रमेश चौहान छन् ।
अभियुक्तहरुले अरु कसैको सुपारी लिई घरधनी गीता खड्काको हत्या गर्न गएकोमा सोही घरमा भाडामा बस्दै आएका इञ्जिनियर दम्पति हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको हत्या गरेका थिए । २०५९ साल असार १३ गते भएको उक्त हत्याकाण्ड १२ बर्षसम्म रहस्यमै रहेको थियो ।
हत्याका काण्डका मूख्य योजनाकारको पनि पहिचान भइसकेको दावी गर्दै प्रहरीले उक्त व्यक्ति हाल विदेशमा रहेको जनाएको छ ।
यद्यपि, प्रहरीले योजनाकारको बारेमा केही बताएको छैन ।
गीता खड्का भने आफूलाई मार्न आएको समयमा बाथरुममा लुकेर बच्न सफल भएको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुले २ लाख रुपैयाँको सुपारी लिएर खड्कालार्ई मार्न गएको प्रहरीको अनुसन्धानको दावी छ ।
बैदेशिक रोजगारको काम गर्ने गीता खड्काबाट ठगीएका वा उनका साझेदार व्यक्तिहरुले उक्त घटना गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
श्रेष्ठ दम्पत्तिको हत्या गरेका अभियुक्तहरुले नै ९ महिनापछि अर्का मेनपावर संचालिका लीलामाया गिरीको सुपारी लिएर उनकै श्रीमानको हत्या गरेको प्रहरीले जनाएको छ ।
रानीबारी हत्याकाण्डको अनुसन्धान गर्नका लागि १२ बर्षमा झण्डै एक दर्जन समिति पनि बनेका थिए ।
रानीबारी हत्याकाण्डको रहस्य पत्ता लगाएर नेपाल प्रहरीले निकै ठूलो सफलता हात पारेको छ । इमेजखबरमा समाचार छ ।