इराकको टिक्रिटमा जारी संघर्षका क्रममा पूर्व राष्ट्रपति सद्दाम हुसेनको समाधिस्थल पूरै ध्वस्त

इराकको टिक्रिटमा जारी संघर्षका क्रममा पूर्व राष्ट्रपति सद्दाम हुसेनको समाधिस्थल पूरै ध्वस्त पारिएको छ ।
आइएससंग लडिरहेको इराकी सेना र हतियारधारी समुहले यो जानकारी दिएको बीबीसीले जनाएको छ ।
एसोसियट प्रेसले खिचेको तस्विरमा अल अवजा गाउंमा सद्दामको समाधिस्थलको छतको पोलहरुमात्र बांकी रहेको देखाइएको छ ।
यस्तै त्यहाँ.रहेको सद्दाम हुसेनको तस्विर हटाएर त्यसको स्थानमा शिया हतियारधारी समुहको नेताको तस्विर र झण्डा राखिएको छ ।
गत वर्ष मात्र स्थानिय सुन्नीहरुले सद्दामको समाधिबाट उनको शव निकालेर अज्ञात स्थलमा लगेका थिए ।
इराकी सुरक्षाकर्मी र इरान समर्थित शिया लडाकुबीच आइतवार भिषण संघर्ष भएको थियो ।
इराकमा दुई दशकसम्म शासन गरेका सद्दाम हुसेन अमेरिकी नेतृत्वको आक्रमणका क्रममा सन् २००३ मा पक्राउ परेका थिए भने सन् २००६ मा उनलाई मृत्युदण्ड दिइएको थियो । – एजेन्सी