काठमाडौ – प्रक्रिया र आन्दोलनको दुईतर्फी बाटोमा लागेका सत्तापक्ष र विपक्षी मोर्चालाई एकै ठाउँमा राखेर सहमति जुटाउन सभाध्यक्ष सुवास नेम्वाङले पहल गरेका छन्। लगातार दुई दिन प्रमुख सचेतकहरूसँग छलफलमा जुटेका सभाध्यक्षले बुधबार दिउँसो प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्वलाई आफ्नै कार्यकक्षमा बोलाई चाँडो निकास गर्न आग्रह गर्ने भएका छन्।
‘नेताहरूले १० दिन माग्नुभएको हो। पहिले मिति तोक्दा पनि नभएकाले अनिश्चितकालसम्म भनेर स्थगित गरेको हो,’ उनले मंगलबार संवाददाताहरूसँग भने, ‘अनिश्चितकाल भनेर कतिसम्म कुर्ने? दलहरूबीच आपसी समझदारी जुटाउन ढिलो भएको छ।’
प्रक्रिया अनिश्चितकालसम्म रोकेर राखेकोमा आफूलाई जनताले कैयौंपल्ट सोधिसकेको प्रसंग राख्दै उनले अब आफैंले शीर्ष नेतालाई त्यही प्रश्न सोध्ने बताए। ‘म पनि नेताहरूकै मुखबाट सुन्न चाहन्छु। अब वार्ता गर्नुहुन्छ कि हुन्न? सहमति खोज्नु हुन्छ कि हुन्न? जनता यही प्रश्नको उत्तर खोजिरहेका छन्।’
संविधानसभामा विवादित विषयमा प्रश्नावली बनाई अघि बढेको प्रक्रियामा विपक्षीले विरोध गरेपछि नेम्वाङले माघ २९ गते दलहरूको सहमतिमा अनिश्चिकालसम्म प्रक्रिया स्थगित गरी संवाद र सहमतिका लागि बाटो खुलाएका थिए।
यही विषयमा नेम्वाङले कांग्रेस, एमाले, एमाओवादी, राप्रपा नेपाल र मधेसकेन्दि्रत दलका प्रमुख सचेतहरूलाई बोलाई सार्थक वार्ताका लागि नेतालाई दबाब दिन आग्रह गरेका थिए। कांग्रेसका चिनकाजी श्रेष्ठ, एमालेका अग्नि खरेल, एमाओवादीका गिरिराजमणि पोखरेल, राप्रपा नेपालका दिलनाथ गिरी, फोरम नेपालका शिवजी यादवसँग सभामुखले आ-आफ्ना पार्टीका शीर्ष नेतालाई आफ्नो सन्देश पुर्याउन र छिट्टै निकासका लागि संवादमा जुट्न आग्रह गरेका थिए।
स्रोतका अनुसार पर्याप्त समय हुँदा पनि नमिलेका विषयमा सहमति नखोजी आन्दोलनको कार्यक्रम घोषणा गरेको र त्यसबारे पूर्वजानकारी समेत नदिएकोमा नेम्वाङ मोर्चाका नेताप्रति सशंकित छन्। ‘कतै संविधान बन्नै नदिने चालबाजी त होइन भनी मोर्चा सम्बद्ध नेताहरूलाई उहाँले जिज्ञासा पनि राख्नुभएको छ। बुधबारको वार्तामा यसबारे छलफल होला,’ स्रोतले भन्यो।
प्रमुख सचेतकहरूले आ-आफ्ना दलका अध्यक्षलाई सभामुखको सन्देश पुर्याएको र सोहीअनुसार बुधबार दिउँसो १ बजे बैठक राखिएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले बताए।
नेम्वाङसँगको छलफलमा विपक्षी आन्दोलनको कार्यक्रम पहिलेदेखि नै तय गरेकाले नयाँ नभएको जानकारी गराइएको एमाओवादीका प्रमुख सचेतक पोखरेलले बताए। ‘यसको अर्थ संवादमै नबस्ने भन्ने होइन। हामी अहिले पनि सार्थक संवादको पक्षमा छौं,’ उनले भने। फोरम नेपालका प्रमुख सचेतक यादवले पनि माघ १६ पछि दोस्रो र तेस्रो चरणको आन्दोलन हुने पहिले निर्धारण गरेको जानकारी दिएका थिए। ईकन्तिपुर समाचार छ ।