चितवन । राष्ट्रपति डा. रामवरण यादवले सबै दलले एक ढिक्का भएर संविधान निर्माण गर्नुपर्ने बताएका छन् ।
पूर्वी चितवनको रत्ननगरमा विहीबारदेखि सुरु भएको नेपाल बार एसोसियशनको १३औं राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति यादवले जनआन्दोलनमा एक ढिक्का भए जस्तै अहिलेपनि सबैदल मिलेर संघीय लोकतान्त्रिक संविधान दिनुपर्ने बताए ।
उनले जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गइरहेको भन्दै यसलाई संस्थागत गर्न कांग्रेस, एमाले, एमाओवादी, मधेसवादीलगायत सबै दललाई अनुरोध गरे ।
कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले सत्तापक्ष र विपक्षी दलहरुलाई चैत्र ११ गतेभित्र सहमति गर्न आग्रह गरे ।
विपक्षी दल ११ गतेपछि आन्दोलनमा होमिने अवस्थामा पुगेकाले त्यसअघि नै सहमति गरी संविधान निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।
सहमति नभए आफूलाई जिम्मेवारी दिए १० दिनभित्रमा नयाँ संविधानको मस्यौदा दिने पनि सभाध्यक्ष नेम्वाङले दाबी गरे ।
कार्यक्रममा कायममुकामय प्रधानन्यायधीश कल्याण श्रेष्ठले संविधानसभाको जनादेश अनुसार जनतालाई संविधान दिनुपर्ने बताए ।
रत्ननगरस्थित होटल स्टार बैंक्वेटमा सुरु भएको सम्मेलनमा देशभरका ३ हजारभन्दा बढी कानुन व्यवसायी, एसियाका अध्यक्ष, आइबीएका प्रतिनिधि, नेपालका लागि विभिन्न देशका राजदूतहरु, न्यायाधीशहरुको सहभागिता रहेको छ । – इमेजखबरमा समाचार छ ।