नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माणका सूत्रधार गिरिजाप्रसाद कोइरालाको पाँचौ स्मृति दिवस

काठमाडौं  । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको शनिबार पाँचौ स्मृति दिवस मनाइँदैछ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं जारी शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।
नेपाली राजनीतिमा सबैभन्दा बढी ताली, गाली खाँदै अन्त्यमा नायकको उपाधि पाएका कोइरालाको निधन भएको पाँच वर्षसम्म पनि उनले सुरु गरेको शान्ति र संविधान निर्माणको कामले अझै पूर्णता पाएको छैन ।
२०६४ सालमा गठित संविधानसभा संविधान नै नदिएर अवशा भएपछि गत वर्ष संविधानसभाको अर्को निर्वाचनपछि गरिएपनि अझै संविधान बन्न सकेका छैन । चार वर्ष अगाडि कोइरालाको निधन हुँदा शान्ति प्रक्रिया टुंग्याइ संविधान बनाएर कोइरालाले थालेको अभियान पूरा गरेरै छाड्ने कसम खाएका नेताहरु आपसी किचलोमै फसेका हुन् ।
२०४६ यता मृत्युपर्यन्त राजनीति आफ्नै वरिपरी घुमाउन सफल कोइराला सुरुतिर कम्युनिष्टप्रति असहिष्णु देखिएपनि जीवनको उत्तरार्धमा तिनै कम्युनिष्टहरुसँग सहकार्य गर्न पुगेका थिए ।
यही सहकार्यकै कारण सशस्त्र हिंसाको बाटोमा रहेको माओवादीलाई राजनीतिको शान्तिपूर्ण धारमा ल्याउन कोइराला सफल भए । आफ्नो राजनीतिक जीवनलाई नै दाउमा राखेर माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको बताउने कोइरालाको अडानले नै संसद पुनस्र्थापना हुँदै मुलुकबाट राजतन्त्रको अन्त्य गराएको थियो ।
कोइरालाको निधनको पाँच वर्षसम्मपनि राष्ट्रिय राजनीतिका मुद्दाहरु करिब उही रुपमा छन् । – इमेजखबरमा समाचार छ।