भ्रष्टाचार र अस्थिर राजनीतिका कारण जनतामा वितृष्णा

काठमाडौं  । सार्वजनिक निकायहरु तथा राजनीतिक दलहरुप्रति नागरिकको विश्वास खस्कँदै गएको राजधानीमा शनिबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ ।
विकासका लागि अनुसन्धान तथा उच्च शिक्षामा क्षमता अभिबृद्धिका लागि नर्वेले नेपालमा गर्दै आएको नोरहेड परियोजना अन्तर्गत रही त्रिभुवन विश्वविद्यालयको जनप्रशासन केन्द्रीय विभागले तयार पारेको प्रतिवेदनमा मौलाउँदो भ्रष्टाचार र अस्थिर राजनीतिका कारण ती निकायको विश्वसनीयता खस्केको उल्लेख छ ।
नर्वेको युनिभर्सिटी अफ बर्गेनका प्राध्यापक इस्तियाक जमिल र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकालले संयुक्तरुपमा तयार पारेको अध्ययन प्रतिवेदन सुशासनका सन्दर्भमा सार्वजनिक र राजनीतिक संस्थाप्रति जनताको विश्वासमा केन्द्रित छ ।
प्रतिवेदनले शासक वर्गप्रति जनतामा अविश्वास बढ्दै गएको, कर्मचारीतन्त्रमा भ्रष्टाचार बढ्दै गएको, मनपरितन्त्र मौलाएकाले जनतामा वितृष्णा मौलाएको औंल्याएको छ ।
सन् २०१४ को जुन र अगष्ट महिनामा देशभर प्रश्नावलीमार्फत् तथ्यांक संकलन गरिएको थियो । देशका हिमाल, पहाडी र तराईका ४८ निर्वाचन क्षेत्रका २४ हजार प्रश्नकर्तासँग सार्वजनिक निकाय र राजनीतिक संस्थाहरुप्रतिको विश्वासबारे प्रश्नावली भरिएको थियो । इमेजखबरमा समाचार छ।