संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले परिणाम निस्कने गरी सार्थक संवाद गर्न शीर्ष नेताहरूलाई फेरि आग्रह गरेका छन् ।
गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक कलेजको दोस्रो स्थापना दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा उनले प्रमुख राजनीतिक दलबीच ध्रुवीकरण बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै ३७ दिनदेखि सहमतिका लागि स्थगित संविधानसभाको बैठक लामो समयसम्म लम्ब्याइरहनु औचित्यपूर्ण हुँदैन भने ।
संविधानका अन्तर्वस्तुमा दलीय सहमति जुट्न नसकेपछि प्रक्रियाबाट संविधान बनाउने आफ्नो प्रस्तावलाई थाती राखेर दलहरूलाई पुनः सहमति खोज्ने अवसरका लागि अनिश्चितकालका लागि संविधानसभाको बैठक स्थगन गरेका सभाध्यक्षले लम्बिँदो राजनीतिक सङ्क्रमणबाट देशलाई समाधान दिन दल र तिनका नेताले परिणाममुखी सार्थक वार्ता गर्नैपर्ने तथा त्यसको विकल्प नरहेको बताए ।
सभाध्यक्षले सहमति कायम नभएका विषयमा २४सै घन्टा छलफल गरेर निष्कर्षमा पुग्न सत्तापक्ष र एकीकृत नेकपा (माओवादी) नेतृत्वको ३० दलीय मोर्चालाई आग्रह गरे ।
राजनीतिक दल र तिनका नेता सहमति कायम गर्न सक्षम रहेका तर त्यसो गर्न उहाँहरूले नचाहेको महसुस आफूलाई भएको बताउँदै उनले यही चैत ११ गते अगावै निष्कर्षमा पुग्न पुनःआह्वान गर्नाका साथै नागरिक समाज, विद्वत् वर्गलगायत सबैलाई सकारात्मक दबाब दिन अनुरोध गरे ।