हेटौंडा-काठमाडौं छोटो दुरीको वैकल्पिक मार्ग कुलेखानीमा भएको सवारी दुर्घटनामा पाँच जना भारतीय नागरिकको मृत्यु

हेटौंडा – हेटौंडा-काठमाडौं छोटो दुरीको वैकल्पिक मार्ग कुलेखानी-६ मा आइतबार भएको सवारी दुर्घटनामा पाँच जना भारतीय नागरिकको मृत्यु भएको छ । दुुर्घटनामा दुई बालक घाइते भएका छन् ।
दुर्घटनामा ६० वर्षीय घनश्याम प्रसाद र  ६३ वर्षीया देवीयन्ती देवी घटनास्थलमा नै मृत्यु भएको थियो । घाइते १० वर्षीय रिया बर्मा,  ६० वर्षीय वसन्तोष टेडा र १० वर्षीय पियस वर्मनको राजधानीको बयोदा र शिवज्योती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  मकवानपुरका प्रहरी नायब उपरीक्षक शिशु शर्माले वताए  । घाइते वालकद्वयको ८ वर्षीय आर्यन बर्मन र १२ वर्षीय ऋषि बर्मनको बयोदा अस्पतालमै उपचार भइरहेको छ ।  कारमा चालकसहित सात जना थिए ।
हेटौंडाबाट काठमाडौंतर्फ जादै गरेको भारतीय नम्बर प्लेट जेएस ०१ बिजी ७२०७ नम्बरको  कार  भीमफेदी-कुलेखानी सडक खण्डमा पर्ने कुलेखानी- ६ सिमखोलामा दुर्घटना भएको हो ।
घाइतेहरुलाई उपचारका लागि प्रहरीले तत्कालै काठमाडौं पठाएको थियो ।   कार सडकवाट २ सय मिटर तल खसेको थियो । घाइते र मृतक भारतीय नागरिक र एकै परिवारका हुन् ।  उनीहरुले भैंसे चौकीलाई एकै परिवारको भएको लेखाएका थिए ।
नारायणी यातायात व्यवसायी संघ र जिल्ला ट्राफिक कार्यालयले चैत १ गतेदेखि उक्त मार्गमा भाडाका सवारीसाधनमा टाइमकार्ड लागु गरेको छ । तर निजी सवारी साधनमा भने यो नियम लागु गरेको छैन । ईकन्तिपुरमा समाचार छ ।