चीन भ्रमणको सन्दर्भमा राष्ट्रपतिले सुझाव लिन बोलाएको कार्यक्रममा सरकारको प्रतिनिधित्व नबोलाएकोमा दलका नेताहरु असन्तोष

काठमाडौं  – चीन भ्रमणको सन्दर्भमा राष्ट्रपति रामवरण यादवले सुझाव लिन बोलाएको कार्यक्रममा सरकारको प्रतिनिधित्व नबोलाएकोमा दलका नेताहरुले असन्तोष जनाएका छन् । शीतल निवासमा आइतवार साँझ भएको कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरु सहभागी नगराई सुझाव लिएकोमा शंका गर्दै उनीहरुले ‘संवैधानिक राष्ट्रपतिको सीमाभित्र रहेर’ चीनसँग द्विपक्षीय भेटघाट गर्न आग्रह गरे ।
कन्तिपुर दैनिकमा समाचार छ । ‘संवैधानिक राष्ट्रपतिले के गर्ने, कस्तो गर्ने भन्नेबारे सरकारले तयारी गरेकै होला’, कांग्रेस उपसभापति रामचन्द्र पौडेलले घुमाउरो शैलीमा यादवलाई सुझाव दिए ‘सरकारले पक्कै पनि राष्ट्रपतिलाई त्यसबारे अवगत गराउनेछ । म भ्रमण सफल होस भन्ने शुभकामना दिन चाहन्छु ।’
संवैधानिक राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री हुने तर कार्यक्रममा प्रधानमन्त्री र सरकारी पदाधिकारी कोही नदेखेकामा नेताहरुले प्रश्न उठाएका थिए । एमाओवादीका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री वा उनको प्रतिनिधित्व गर्ने मन्त्रीहरु सहभागी नभएकोमा आश्चर्य प्रकट गरे । ‘राष्ट्रपतिज्यूको भ्रमणको तयारीबारे सरकारले तयारी गर्नुपर्नेमा प्रधानमन्त्री ज्यू देखिन । मन्त्रीहरु पनि कोही देखिन’, श्रेष्ठले प्रश्न उठाएपछि त्यसमा कांग्रेस नेता पौडेलले समेत समर्थन गरेका थिए ।
त्यसपछि राष्ट्रपति यादवले प्रधानमन्त्री सुशील कोइरालालाई निम्ताएको तर अस्वस्थताका कारण सहभागी हुन नसक्नुभएको अवगत गराएका थिए । सहभागी अर्को एक नेताका अनुसार शितल निवासमा सरकारलाई वाइपास गरिएको र प्रक्रिया नपुर्‍याई औपचारिक कार्यक्रम तय गरेको भन्दै नेताहरुबीच आपसी छलफल पनि भएको थियो । ‘त्यसैले धेरै सहभागीले त शुभकामना मात्र दिएर औपचारिकता मात्र दिए । खास सुझाव राखेनन्’, ती सहभागीले भने ।
यही बिहीवारदेखि साताव्यापी चीन भ्रमणमा जान लागेका यादवले आफ्नो भ्रमणबारे ५ बुँदे लिखित धारणा नेताहरुलाई बाँडेका थिए । सत्ता पक्ष कांग्रेस, एमाले, प्रमुख विपक्षी एमाओवादी, मधेशकेन्दि्रत दल र संविधानसभामा कम्तीमा ३ सभासद प्रतिनिधित्व भएका दलका नेताहरु सहभागी थिए ।
कांग्रेसबाट बरिष्ठ नेता शेरबहादुर देउवा र नेता पौडेल, एमालेबाट बरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, एमाओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, नेता श्रेष्ठ र बाबुराम भट्टराई सहभागी थिए । राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका अध्यक्ष पशुपतिशम्शेर जबरा, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलगायत सहभागी थिए ।
चिनिया राष्ट्रपतिको निमन्त्रणमा यादव बहुराष्ट्रिय आर्थिक मञ्च (बोआओ फोरम)मा भाग लिन जान लागेका हुन् । त्यसक्रममा चिनिया राष्ट्रपति र अन्य पदाधिकारीसँग पनि भेटघाट हुने भएकाले संविधान निर्माणका विषयमा कस्तो धारणा राख्ने बारे नेताहरुको सुझाव उनले मागेका हुन् ।
‘संविधान निर्माणको सम्बन्धमा तपाईहरुको भनाइलाई नै मैले आधिकारिक मान्नुपर्नेछ । अत नेपाली जनताले नया संविधान कहिले पाउलान भन्ने सवालमा म तपाईहरुको रायमै निर्भर रहनेछु’, यादवले नेताहरुलाई उपलब्ध गराएको लिखित पत्रमा उल्लेख छ ।
 प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष केपी ओली अस्वस्थताका कारण सहभागी हुन नसकेको त्यसक्रममा जानकारी गराइएको थियो । बैठकमा सहभागी संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्गले संवैधानिक राष्ट्रपतिले विदेशी मञ्चमा राख्ने कुराकानीबारे सरकारले आधिकारिक धारणा दिने अपेक्षा राखे । ‘आर्थिक विकास मञ्चमा बोल्ने विषय धेरै त सरकारबाटै हुन्छ । मैले संविधान निर्माणको वर्तमान अवस्था राखिदिए’, नेम्वाङ्गले कान्तिपुरलाई बताए ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले भने चीन भ्रमणमा जानु अघि मुलुकको अहिलेको अवस्थाबारे कस्तो धारणा राख्ने बारे नेताहरुसँग औपचारिक रुपमा सुझाव मागिएको जानकारी दिए । ‘प्रधानमन्त्री भने स्वास्थ्यको कारणले आउन नसक्नुभएको हो’, दाहालले भने ।
एमाओवादी नेता श्रेष्ठले यादवको भ्रमण सफलताको शुभकामना, २ पक्षीय सम्बन्ध सुधार र संविधानसभाबाटै संविधान जारी हुनेमा सबै नेताहरु प्रतिवद्ध रहेको धारणा राख्नुपर्ने एकमुष्ठ सुझाव रहेको जानकारी दिए । राष्ट्रपति यादवसँग सहरी विकास मन्त्री नारायण खड्का, परराष्ट्र निमित्त सचिव शंकरदास बैरागीलगायत १८ जनाको टोली भ्रमणमा जानेछन् । ईकन्तिपुर दैनिकमा समाचार छ ।