सप्तरीको त्रिकौलमा यात्रुबस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु, २५ घाइते

राजविराज  । पूर्व-पश्चिम राजमार्गअन्तर्गत् सप्तरीको त्रिकौल-८ मा मंगलबार दुईओटा यात्रुबस एकापसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
घाइते भएका २५ मध्ये १५ जनाको अवस्था चिन्ताजनक छ । काठमाडौंबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायात र काँकड्भिट्टाबाट भैरहवा जाँदै गरेको मुनाल यातायातको बस ठोक्किएको हो ।
मृतक उज्यालो यातायातका चालक बाराका रोहित भुजेल र भारत सिलिगुडीका सुरेन्द्र राई रहेको प्रहरीले जनाएको छ । घाइतेको धरान र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौबाट काँकड्भिट्टा जाँदै गरेको उज्यालो यातायातले माइक्रोबसलाई उछिन्न खोज्दा अनियन्त्रित भइ अगाडिबाट आउँदै गरेको मुनाल यातायातको बसमा ठोक्किएको ईलाका प्रहरी कार्यालय भारदहका प्रमुख उमेशकुमार यादवले जानकारी दिए । – इमेजखबरमा समाचार छ ।