राजविराज । सप्तरीको कन्चनरुप नगरपालिका वडा नम्बर-६ को बडेमारामा विहीबार भएको भीषण आगलागीमा एकजनाको जलेर मृत्यु भएको छ ।
आगोमा परी स्थानीय ६५ वर्षीय रामचलितर सरदारको मृत्यु भएको हो । आगलागीमा ३३ परिवारका बडेमाराका ७९ घर जलेर नष्ट भएका छन् ।
नन्कु सरदारको परालको थुप्रोबाट सुरु भएको आगलागी पुरै गाउँमा फैलिएको थियो ।
राजविराज, इनरुवा, इटहरीबाट पुगेका बारुयन्त्र, प्रहरी, सेना र स्थानीय बासिन्दाको सहयोगमा ४ घन्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगलागी नियन्त्रणका क्रममा १९ परिवारका २८ घर भत्काएको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए ।
आगलागीलगत्तै सप्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले घटनास्थल पुगेर पीडित परिवारलाई १५ सय तथा मृतकका परिवारलाई तत्कालका लागि १० हजार ५ सयका दरले रकम उपलब्ध गराइएको बताए ।
मृतक सरदारको शव पोटमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अन्चल अस्पतालमा राखिएको छ । इमेजखबरमा समाचार छ ।