काठमाडौ – दसबुँदे माग राखी अनशनरत त्रिविवि शिक्षण अस्पतालका हाडजोर्नी विभागमा कार्यरत प्रा चिकित्सक गोविन्द केसीको स्वास्थ्यस्थिति बिग्रँदै गएको छ । उनको स्वास्थ्यमा उपचाररत प्रा चिकित्सक दिव्यसिंह शाहले दिएको जानकारीअनुसार चिकित्सक केसीको पिसाबमा एसिटोन, कम रक्तचाप (लो ब्लड प्रेसर), कमजोर मासंपेशी, टाउको दुख्नेजस्ता समस्या देखिएको छ ।
‘यस्ता समस्यालाई समाधान गर्न स्लाइन तथा औषधि चलाउनु पर्ने तर उहाँले मानिरहनुभएको छैन’ चिकित्सक शाहले भने । नियमितरुपमा उनको इसिजीमार्फत पनि स्वास्थ्य परीक्षण भइराखेको उनले जानकारी दिए ।
चिकित्सक केसीले अनशन सुरु गर्नुभएको आज सातौँ दिनमा छ । यस अवधिमा सरकारीतर्फबाट उनको अनशन अन्त्य गराउनका लागि खासै प्रयास पनि भएको छैन । सरकारका तर्फबाट आधिकारिक रुपमा केसीलाई भेट गर्न कोही प्रतिनिधि अनशनस्थलमा गएका छैनन् ।
वरिष्ठ अर्थोपेडिक सर्जन केसीले चौथो अनशन १४ दिनमा अन्त्य गरेकाे थियो । यसैबीच उनको मागप्रति एक्यबद्धता जनाउँदै नेसनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनले त्रिविवि शिक्षण अस्पतालको बहिरङ्ग सेवालाई आंशिक रुपमा अवरोध गरेका छन् ।
एसोसिएनका अध्यक्ष डा रामचन्द्र सापकोटाले केसीका माग पूरा नभए देशभरिका रेजिडेन्ट डाक्टर अस्पताल बन्द गराई आन्दोलनमा उत्रिने चेतावनी दिए ।
राज्यका विभिन्न निकायलाई आफ्ना विगतका सहमति कार्यान्वनका बारेमा पटकपटक आग्रह एवम् झकझक्याउने काम गर्दा पनि नभएपछि आफू अनशनमा बसेको केसीले बताउँदै आएका छन् । रासस