गतिरोध अन्त्यका लागि प्रधानमन्त्री र एमाले ओलीबीच भएको भेटवार्तामा सहमतिलाई नै अगाडि बढाउने निर्णय

भक्तपुर- वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रधानमन्त्री सुशील कोइराला र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबीच आज भएको भेटवार्तामा सहमतिलाई नै अगाडि बढाउने निर्णय भएको छ ।
 
ओली निवास बालकोटमा डेढ घन्टा भएको वार्तामा सहमतिलाई नै प्राथमिकता दिएर अगाडि जाने बारेमा छलफल भएको हो । वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री कोइरालाले ओलीसँगको भेटमा सहमतिकै आधारमा जानेबारेमा कुराकानी भएको बताए । उनले भने, “संविधान निर्माणका लागि सहमतिमै जुटौ, सहमतिलाई पहिलो प्राथमिकता दिएर सहमतिकै आधारमा संविधान निर्माण गराँ भन्नेबारेमा छलफल भयो, सहमति नभए बहुमतीय प्रक्रिया त छँदैछ ।”
 
भेटमा दुई नेताको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी आदानप्रदान गरिएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले प्रधानमन्त्री कोइराला र एमाले अध्यक्ष ओलीको भेटमा संविधान निर्माणकै विषयमा केन्द्रित भएर छलफल भएको बताए । सहमतिमै संविधान निर्माण गर्ने र घोषणा गर्नेबारेमा छलफल भएको उनको भनाइ थियो ।एमाले नेता पाण्डेले भने, “संविधान सहमतिमै निर्माण गर्ने र सहमतिमै जारी गर्ने भन्नेबारेमा छलफल भयो, सहमतिबाटै प्रक्रियामा जाने कुरा भयो ।” विपक्षीले सुरु गरेको आन्दोलनको औचित्य नभएको बताउँदै उनले विपक्षी दलले आन्दोलन फिर्ता गरेर सहमतिमा आउनुपर्नेबारेमा पनि छलफल भएको बताए ।
 
संविधान निर्माणमा दलबीच सहमति भएपछि लोकतान्त्रिक प्रक्रियाबाटै संविधान जारी गर्नेबारेमा कुराकानी भएको थाहा भएको छ । सभाध्यक्षले दिएको समयसीमा आइतबार सकिँदैछ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले आइतबारसम्ममा सहमति नभए एक दुई दिन पर गएर भए पनि सहमति हुने विश्वास व्यक्त गरे। रासस