डा.डिल्लीराज खनाल एमालेमै फर्किए, सहमति नजुटे सहमति भएका विषयहरुलाई मात्र समेटेर संविधान जारी गर्न सकिने केपी ओलीको भनाई

काठमाडौं  । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संविधानसभामा सहमति नजुटे सहमति भएका विषयहरुलाई मात्र समेटेर संविधान जारी गर्न सकिने बताएका छन् ।
शनिबार पार्टी मुख्यालय बल्खुमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले सकेसम्म सबै विषयमा सबै दलबीच सहमति खोजिने र सहमति नजुटे असहमतिका विषयलाई थाँती राखेर भएपनि संविधान जारी गर्नुपर्ने बताए ।
उनले दोस्रो संविधानसभाबाट पनि संविधान जारी गर्न नदिने खेल सुरु भइसकेको दाबी समेत गरे । दोस्रो संविधानसभा असफल हुँदा मुलुक नै असफल हुने भन्दै उनले अब संविधान जारी गर्नुको विकल्प नभएको समेत बताए ।
कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधान लेखनको सन्दर्भमा सहमतिका लागि अधिकतम् प्रयास गर्नुपर्ने बताए ।
सहमति नबनेको अवस्थामा विपक्षी दलहरुले आफ्ना असहमतिलाई आलोचनात्मक बुँदाको रुपमा उल्लेख गरेर संविधान जारी गर्न सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा एमाले अध्यक्ष ओली र नेता नेपालले अर्थविद् डा.डिल्लीराज खनाललाई पार्टीमा स्वागत गरे । २०६६ सालमा एमाले छाडेर एकीकृत माओवादीमा प्रवेश गरेका अर्थविद् खनालले पछिल्लो समय राष्ट्रिय प्रगतिशील एकता मञ्च गठन गरेका थिए ।
कार्यक्रममा खनालसँगै उनी नेतृत्वको मञ्च नै एमालेमा प्रवेश गरेको जानकारी दिइएको थियो । इमेजखबरमा समाचार छ ।