३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन/पोखरा । चितवनको नारायणगढस्थित लायन्सचोकमा ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज झडप भएको छ ।
केन्द्रीय कार्यक्रम अनुरुप मोर्चाले लायन्चोकदेखि पुलचोकसम्म निकाल्न लागेको लाठ्ठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो ।
लाठ्ठीसहित नाराबाजी गर्दै जुलुस पुल्चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठ्ठी नै वर्षाएको हो ।
प्रहरीको लाठ्ठीचार्जबाट करिव एक दर्जन प्रदर्शनकारीहरु घाइते भएका छन् ।
थुप्रै प्रदर्शनकारीलाई प्रहरी गिरफ्तार समेत गरेको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए ।
प्रहरीको लाठ्ठी चार्जपछि प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेको थियो । अहिले लायन्सचोक क्षेत्र तनावग्रस्त बनेको छ ।
यता, पोखराको न्युरोडमा पनि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताहरुको लाठी जुलुस प्रदर्शनको क्रममा झडप भएको छ ।
झडपमा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् । लाठी जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।
मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसक्रममा समाचार संकलनका लागि गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेल पनि घाइते भएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ काँस्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पार्किङ्ग गरी राखेको कारमा पनि तोडफोड गरेका छन् । इमेजखबरमा समाचार छ ।