अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या बढ्दै, संक्रमितमध्ये २५ जनाको मृत्यु

वीरेन्द्र के.सी
सन्धिखर्क, अर्घाखाँची । असुरक्षित यौनसम्पर्क तथा जनचेतना अभावले अर्घाखाँचीमा बर्षेनी एचआईभी संक्रमितको संख्या बढ्दै गएको छ । प्रेरणा र सक्रिय युवा समाजले जिल्ला जनस्वास्थ्य कार्यालयको सहकार्यमा झन्डै १३ हजार सर्वसाधारणसँग गरिएको रक्त परीक्षणमा १ सय २९ संक्रिमित फेला परेका हुन् । संक्रमितमध्ये २५ जनाको मृत्यु भएको संस्थाले जनाएको छ । 
यसरी भेटिएका संक्रमितमध्ये तिनमा ६७ महिला र ६२ पुरुष छन् । संस्थाले ६ वर्षदेखि गरेको अध्ययनमा यस्तो देखिएको हो । यसअघि ०६५ मा चारजना मात्रै संक्रमित भेटिएको संस्थाले जनाएको छ । ‘रक्त परीक्षणका क्रममा यतिको संख्यामा यो वर्ष संक्रमित भेटिएका हुन्,’ प्रेरणाका संयोजक सुनील अधिकारीले भने, ‘परीक्षणका क्रममा धेरैजसो हिच्किचाएर नआएकाले यो संख्या अझै बढ्ने अनुमान गरेका छौं ।’ उनका अनुसार संक्रमितको संख्या असुरक्षित रूपमा गरिएको यौनसम्बन्ध नै हो । घरदैलो गरेर दुवै संस्थाले रक्त परीक्षण गर्ने क्रममा संक्रमित फेला परेको बताए । संक्रमितमध्ये ६४ जनाले एचआईभीको औषधि सेवन गर्दै आएका छन् ।
भेटिएका अधिकांश संक्रमित हंसपुर र ठाडा गाविसमा रहेको सक्रिय संस्थाका संयोजक बालकृष्ण खत्रीले बताए । ती गाविसमा ११ र १२ जना संक्रमित परीक्षण गर्दा भेटिएका छन् । ‘संक्रमितको संख्या बढ्दै गएको छ,’ खत्रीले भने, ‘धेरैले रक्त परीक्षण गर्न नै मानेनन् ।’ एचअाईभी संक्रमित थाहा पाउनका लागि सन्धिखर्क, पोखराथोक र ठाडामा स्वेच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्र खोलिएका छन् । भेटिएका मध्ये २५ जना संक्रमित सार्वजनिक भएका छन् भने अरू खुल्न नचाहेको खत्रीले जनाए । संक्रमित समाजमा हुने भेदभावले गर्दा खुल्न सकेका छैनन् ।

अन्य समाचारहरु