रौतहट । रौतहटमा सेवा केन्द्र सार्ने विषयमा भएको विवादमा प्रहरीले चलाएको गोली लागेर शुक्रबार एकजना गम्भीर घाइते भएका छन् ।
रबरको गोली लाग्दा मुडवलवा गाविसका विद्यानन्द यादव घाइते भएका हुन् । उनलाई उपचारका लागि चितवनको भरतपुर लगिएको छ ।
सदरमुकाम गौरको बडेरुवा पुलमा रहेको प्रहरी बिट जलाउन खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो । झडपमा प्रदर्शनकारी र प्रहरी गरी २० जनाभन्दा बढी घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसक्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्यासका साथै चार राउन्ड गोलीसमेत प्रहार गरेको थियो । अश्रुग्यास लागेर केहि पत्रकार समेत घाइते भएका छन् ।
आक्रोशित प्रदर्शनकारीले सदरमुकाम गौरका रहेको प्रहरीचौकीमा क्षति पुर्याउनका लागि साथै प्रहरीको ना२त ५६७६ नम्बरको पिकअप भ्यानमासमेत तोडफोड गरेका छन ।
विरोध प्रदर्शन हिंसात्मक भएपछि रौतहटमा उद्योग वाणिज्य संघले बन्द आह्वान गरेको छ । मालपोत र नापी कार्यालयको सेवा केन्द्र चन्द्रनिगाहपुरमा पनि स्थापना गर्ने सरकारी निर्णयविरुद्ध रौतहट उद्योग वाणिज्य संघले बन्द आह्वान गरेको हो ।
तीन दिनदेखिको प्रदर्शन र बन्दले सदरमुकाम गौर र आसपासका क्षेत्रको जनजीवन कष्टकर बनेको छ ।
सरकारले चन्द्रनिगाहपुर आसपास गाविसका बासिन्दालाई ४२ किलोमिटर टाढा रहेको सदरमुकाम गौरमा सेवा लिन जान असुविधा भएको भन्दै चन्द्रनिगाहपुरमा दुई सरकारी कार्यालयको सेवा केन्द्र राख्ने निर्णय गरेको थियो । इमेजखबरमा समाचार छ ।