काठमाडौं । निमोनिया, स्वाइन फ्लु र क्षयरोगका कारण मृत्यु भएका एमाले नेता रामनाथ ढकालको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । यसअघि उनको शव श्रद्धाञ्जलीका एमाले केन्द्रिय कार्यालय बल्खुमा राखिएको थियो ।
ढकालको काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको थियो ।
रुघाखोकीले च्यापेपछि यही चैत १५ गते आफ्नै उपचारका लागि अस्पताल पुगेका ढकालको चेकअपका क्रममा स्वाइफ्लू, मृगौलाको समस्या र क्यान्सर समेत पत्ता लागेको थियो ।
त्यसअघि नै क्षयरोगको समस्या समेत रहेका ढकाललाई रोगले च्यापेपछि भारतको नयाँदिल्ली लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था गम्भीर बनेपछि भारत लैजान असम्भव भएको थियो ।
ढकालको निधनले पार्टीलाई धेरै क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ । पार्टी मूख्यालय बल्खुमा आज विहान बसेको स्थायी कमिटीको आकस्मिक बैठकले ढकालको सम्मानमा तीन दिनसम्म देशभरिका पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाउने, औपचारिक कार्यक्रमहरु तीन दिनसम्म आयोजना नगर्ने र आगामी २०७२ बैशाख ४ गते श्रद्धाञ्जलीसभा आयोजना गर्न देशभरिका सबै जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
एमाले अध्यक्ष केपी ओलीले आजै शोक वक्तव्य जारी गरी ढकालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
गतिशीलता, जुझारुपन र जस्तोसुकै प्रतिकूल अवस्थामा पनि पार्टीले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने जस्ता गुण भएका ढकालको अकल्पनीय र असामयिक निधनबाट नेकपा (एमाले) मर्माहत, स्तब्ध र शोकाकुल भएको वक्तव्यमा उल्लेख छ । इमेजखबरमा समाचार छ ।