सन्धिखर्कमा विद्यालय जाने उमेरमा गिट्टी कुट्दै बालबालिका । तस्वीर: माया श्रेष्ठ, अर्घाखाँची डट्कम
– माया श्रेष्ठ
सन्धिखर्क, अर्घाखाँची । आर्थिक अभावका कारण अर्घाखाँची जिल्लाको विपन्न परिवारका गरिब तथा दलित बालबालिकाहरु पढ्नबाट बञ्चित भएका छन् । सरकारले गरिब तथा विपन्न बालवालिका पढाइबाट बञ्चित हुन नपरोस् भनी छात्रवृत्तिको लागि प्रत्येक वर्ष अरबौँ रुपैयाँ खर्च गरिरहँदा कतैबाट सहयोग नापाएको भन्दै यहाँका बालबालिकाहरु पढ्नबाट बञ्चित भएका हुन् । विद्यालय पढ्नको लागि आवश्यक पर्ने कापि, कलम, झोला, विद्यालयको पोषाक, खाजा खाने पैसा र विहान साँझ घरमा खानाखानका लागि आवश्यक स्रोत नभएपछि यहाँका गरिब तथा विपन्न परिवारका बालवालिका पढाइ छाडेर ज्याला मजदुर गर्न बाध्य भएका छन् ।
जिल्लामा विद्यालय नै नजाने वा पढ्दा पढ्दै २-३ कक्षामै पढाइ छोड्नेहरु मध्ये अधिकांश बालवालिका बाबुआमा नै नभएका, बाबुले सौतेनी आमा ल्याएर हेला गरेका, दलित तथा मजदुरका छोराछोरी छन् । अनाथ तथा विपन्न भएपछि यहाँका बालवालिकाहरु पढ्ने उमेरमा पनि जबरजस्त मजदुरी गर्न बाध्य भएका छन् । होटल तथा रेष्टुरेण्टमा भाडा माझ्ने, भारी बोक्ने, गिटी फुटाउने, बालुवा चाल्ने, जीप तथा बसहरुमा खलासी गर्ने, धनाड्य व्यक्ति, सरकारी कार्यालयका कर्मचारीहरुको घरमा बसेर घरायसी काम गर्नु बालबालिकाहरुको दैनिकको दिनचार्य जस्तै भएको छ ।
अर्घाखाँचीमा यस आर्थिक वर्षमात्र पनि करिव साडे दुई करोड छात्रवृत्ति विवतरण गरिएको छ । सरकारले त्यति ठूलो परिणाममा छात्रवृत्ति उपलब्ध गराउँदा पनि सदरमुकाम कै बालबालिकाहरु भने आर्थिक अभावका कारण पढ्नबाट बञ्चित बनेका छन् । सन्धिखर्क-२ का राम बहादुर वि.क.ले दुई वर्षदेखि चुत्रावेसी बजारमा भारी बोकेर ज्यान पाल्ने गरेका छन् । स्कूल पढ्ने इच्छा हुँदा हुँदै पनि आर्थिक अभावका कारण कक्षा ३ मा पढ्दा पढ्दै छाडेर भारी बोक्न थालेको उनको भनाई छ । १२ वर्षीय वि.क. सकि नसकि आफु भन्दा ठूलो भारी बोक्न परेको बताउँछन् ।
सन्धिखर्क-१, कि १३ वर्षीय बालिका विमला नेपालीले बालुवा चाल्न र गिट्टी फुटाउन थालेको २ वर्ष भै सकेको छ । स्कूलको मुख सम्म नदेखेकी उनले सानै देखि घरमा बसेर भाइ बहिनी हेर्ने गरेको बताउँछिन् ।उनका आमाबाबुले पनि दिउँसो खोलामा गिट्टी बालुवाको काम गर्ने र साँझ रक्सी खाएर झगडा गर्ने गरेकोले आफुले पढ्न नपाएको उनले गुनासो गरिन् । आफु संगैका साथीहरु झोला बोकेर पढ्न गएको हेरिरहन मन लाग्ने उनको भनाई छ ।
जिल्लाको सदरमुकाम सन्धिखर्कको त्रुचावेसी र सन्धिखर्कमा मात्रै हेर्ने हो भने पढ्ने समयमा बालश्रम गर्न बाध्य भएका बालबालिकाहरु दर्जनौँ देख्न पाइन्छ । जिल्लाको कतिपय सरकारी विद्यालयमा त यस्ता बालबालिकाको नाम विद्यालयको रजिष्टरमा लेखेर छात्रवृत्तिको लागि आएको रकम दुरपयोग समेत हुने गरेको दलित नेताहरुको भनाइ छ । राज्यले दलित, विपन्न र जेहेन्दार बालबालिकाको लागि अर्घाखाँचीमा मात्रै कम्तीमा साँडे दुई करोड रुपैया खर्च गर्दा लक्षित समुदाय नै शिक्षाको पहुँचबाट बाहिर छ ।