३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालकोे मुलुकभर प्रभाव – तनावग्रस्त, ट्याक्सीमा आगजनी चालक जलाउने प्रयास

एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको आमहड्तालकोे प्रभाव जिल्लाजिल्लामा पनि परेको छ ।
वीपी र मध्यपहाडी राजमार्ग भएर लामो तथा छोटो दुरीका यातायातका साधनहरु संचालन हुन नसक्दा काभ्रेपलाञ्चोकका साथै सिन्धुलीमा समेत बन्दको प्रभाव परेको छ ।
यस्तै, ताप्लेजुङ, पांचथर, इलाम, झापा, धरान, बिराटनगर, चितवन, रुपन्देही, कपिलवस्तु, बांके, बर्दिया,  कैलाली र डडेल्धुरामा पनि बन्दको असर परेको छ ।
कञ्चनपुरको भासीमा कृष्णपुर गाउँ विकास समितिको मोटरसाइकल जलाइएको छ भने अन्य सबारी साधन तोडफोड गरिएको छ । पर्यटकीय नगरी पोखरामा पनि बन्दका कारण बिहानैदेखि यातायातका साधन संचालन हुन सकेका छैनन् भने मुख्य बजार खुलेका छैनन ।
बन्दको अवज्ञा गरेको भन्दै पोखरामा ५ वटा बस र एक ट्रकमा तोडफोड गरिएको छ । होटलहरु बन्द हुँदा पर्यटकहरु मारमा परेका छन् । प्रहरीको सहयोगमा पोखराबाट पर्यटक बसहरु भने छुटेका छन् ।
प्रहरीले स्कर्टिङ गरी एकै पटक करिब ५० ओटा बस पोखराबाट अन्यत्र जाने व्यवस्था मिलाएको छ । पोखरामै बन्दको विरोधमा स्थानीयहरुले सडकमै खाना पकाएर खाएका छन् । 
पोखरा नजिकैको बाग्लुङमा भने बन्दको प्रभाव छैन । यही चैत २८ गते हुने उपनिर्वाचनको चहलपहल छ ।
तराईका बारा, पर्सा, रौतहट, धनुषालगायतका जिल्लामा पनि बन्दको प्रभाव परेको छ । जनकपुरका मुख्य चोकहरुमा बिहानैदेखि ३० दलीय मोर्चाका कार्यकर्ता लाठ्ठी सहित सडकमा उत्रेका छन् ।
उनीहरुले पिडारी, रामानन्द चोक, भानुचोकमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् । बन्दकर्ताले जनकपुरमा पनि दुई दर्जनभन्दा बढी सबारी साधनको सांचो खोसेका छन् ।
यता, रुपन्देहीको जनजिवन पनि कष्टकर बनेको छ । भैरहवाको मुख्य चोक बर्मेली टोलमा आन्दोलनकारीले एक मोटरसाइकलमा आगाजानी गरेका छन् ।
बन्दका कारण राजमार्गहरुमा सवारी साधन चलेका छैनन । भारतबाट आउने नेपाली सिमा नाका बेलहियामा अलपत्र परेका छन् । इमेजखबरमा समाचार छ । 
ट्याक्सीमा आगजनी 
काठमाडौं । एकीकृत माओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले गरेको तीन दिने आमहड्तालकोे पहिलो दिन काठमाडौंको कोटेश्वर तनावग्रस्त देखियो  ।
एकाबिहानै बन्दकर्ताले कोटेश्वरमा रोकि राखेको एउटा बस र एउटा ट्याक्सीमा आगजनी गरेका छन् ।
यस्तै बालकुमारीमा बा.१.ज. १८७७ नम्बरको ट्याक्सी र त्यसका चालक जलाउने प्रयास भएको छ । चालकले भागेर ज्यान जोगाएका छन् भने ट्याक्सी जलाइएको छ ।
यस्तै बिजुलीबजारमा पाउरोटी बोकेको एउटा भ्यान जलाइएको छ । बन्द हिंसात्मक भएपछि यसको असर काठमाडौं उपत्यका भरी पनि देखिएको छ । इमेजखबरमा समाचार छ ।