सत्तारुढ कांग्रेस-एमालेद्धारा विपक्षी मोर्चासँग सहमति भए पनि नभए पनि ३० गतेपछि संबिधानसभाको प्रक्रिया सुरु गर्ने निर्णय

काठमाडौ – सत्तारुढ कांग्रेस-एमाले विपक्षी मोर्चासँग सहमति भए पनि नभए पनि ३० गतेपछि संबिधानसभाको प्रक्रिया सुरु गर्ने निर्णय गरेका छन् । केहीबेर अघि बालुवाटारमा सकिएको दुई दलको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकबाट बाहिरिंदै एमाले नेता माधवकुमार नेपालले ३० गतेसम्म एमाओवादीसहितको विपक्षी मोर्चासँग छलफल गर्ने र त्यसपछि प्रक्रिया सुरु गर्ने निर्णय भएको जानकारी दिए । ‘३० गतेसम्म विभिन्न विकल्पमा छलफल गर्ने निर्णय भएको छ’, उनले भने,’विकल्प के भने भन्ने कुरा उहाँहरुले ल्याउनुपर्‍यो ।’
बैठकबाट बाहिरिंदै कानुनमन्त्री नरहरि आचार्य र कांग्रेस नेता पूर्णबहादुर खड्काले पनि एमाओवादीसँग अधिकतम लचकतासहित वार्ता गर्ने र ३० गतेपछि संबिधानसभाको प्रक्रिया सुुरु गर्ने निर्णय भएको बताए ।
संबिधानसभाबारे छलफलका लागि २८ गते कांग्रेस र एमालेको पुन बैठक बस्ने गरी आजको बैठक सकिएको उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले जानकारी दिए ।
विपक्षीको बहिष्कारको कारण दुई महिनापछि सोमबार बसेको संबिधानसभाको बैठक सभामुख सुबासचन्द्र नेम्वाङले ७ दिन स्थगित गर्दै चैत ३० गतेका लागि बोलाएका थिए । माघ ११ देखि संबिधानसभामा सुरु भएको बहुमतीय प्रक्रियाको विरोधमा प्रतिपक्षी मोर्चाले बैठक बहिष्कार गर्दै आएको थियो । ईकान्तिपुरमा समाचार छ ।