काठमाडौं । प्रधानमन्त्री सुशील कोइराला र संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङबीच भेटवार्ता भएको छ ।
सभाध्यक्ष नेम्बाङको आफ्नै कार्यकक्ष सिंहदरवारमा भएको भेटघाटमा भोलिका लागि आह्वान गरिएको संविधानसभाको बैठकबारे छलफल भएको थियो ।
प्रधानमन्त्री कोइरालाले संविधानसभाको कार्यसूचीका बारेमा सामान्य छलफल गर्दै सहमतिका लागि दलहरुबीच अधिकतम प्रयास भइरहेको जानकारी सभाध्यक्ष नेम्बाङलाई गराएका थिए ।
उनले सहमति बन्न सक्ने अवस्थामा सभाको बैठक केहि दिनपछि सार्नुपर्ने हुनसक्ने बताएका थिए ।
प्रधानमन्त्री कोइरालाले दलहरुबीच विवादित विषयमा लगभग सहमति भैसकेको र अन्तिम रुप दिन मात्र बाँकी रहेको जानकारी सभाध्यक्षलाई दिएका थिए ।
यद्यपि, भोलिको बैठक पनि शोक प्रस्ताव पारित गरेर स्थगित हुने सम्भावना छ ।
हिजो निधन भएका पूर्वमन्त्री सलिम मियाँ अन्सारीप्रति शोक प्रस्ताव पारित गरेर बैठक केही दिनकालागि स्थगित गरिने सम्भावना बढी रहेको सभाध्यक्षनिकट स्रोतले जनाएको छ ।
यसअघि चैत २३ गतेको संविधानसभाको बैठक पनि एमाले नेता एवं पूर्व सभासद रामनाथ ढकालको निधनमा शोक प्रस्ताव पारित गर्दै एक हप्ताका लागि बैठक स्थगित गरिएको थियो ।
अन्सारी भने २०४८ साल र २०५१ सालमा बारा जिल्लाबाट सांसद निर्वातिच भएका थिए । इमेजखबरमा समाचार छ ।