इराकमा १४ सर्वसाधारणको हत्या गरेको अभियोगमा अमेरिकी गार्डलाई आजीवन काराबास

 अमेरिकाको वासिङटनस्थित एक अदालतले इराकमा १४ सर्वसाधारणको हत्या गरेको अभियोगमा अमेरिकी निजी सैनिक कम्पनी ब्ल्याकवाटरका पूर्व गार्ड निकोलस स्लाटेनलाई आजीवन कारावासको सजायँ सुनाएको छ ।
सन् २००७ को उक्त हत्याकाण्डमा संलग्न अरु तीन जनालाई भने ३०/३० वर्षको जेल सजायँ सुनाइएको छ । बग्दादको निसुर स्वायरमा मानिसहरुको भीडमा ती पूर्व गार्डले गोली चलाउँदा १४ जना मारिएका थिए ।
अमेरिकी सुरक्षाकर्मीहरुका लागि बाटो खुलाउने क्रममा उनीहरुले गोली चलाउँदा अरु १७ जना घाईते भएका थिए । आरोपितहरुले भने विद्रोहीविरुद्ध प्रत्याक्रमण गरेको भन्दै आफुहरु निर्दोष रहेको जिकीर गरेका थिए ।
सरकारी अभियोजनकर्ताहरुले सर्वसाधारणमाथि उनीहरुले अन्धाधुन्ध गोली हानेको दलील गरेका थिए । ती पूर्व गार्डले गोली हानेको प्रति कुनै पश्चाताप नगर्ने बताएका थिए ।
सुनुवाईका लागि पीडित पक्ष र प्रत्यक्षदर्शीहरु इराकबाट अमेरिका पुगेका थिए । उक्त गोलीकाण्डको व्यापक विरोध भएको थियो भने युद्धका बेला लिइने निजी कम्पनीका सुरक्षागार्डको भूमिकामै बहस थालिएको थियो ।  एजेन्सी