खाडीमा बगाएको पसिनाबाट खनको उमाविमा कम्प्युटर वितरण

प्रेमनारायण आचार्य



खन, अर्घाखाँची । फेसबुकको प्रयोग गर्न जाने फाइदा, नजाने घाटा । अहिले फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालको प्रयोग नगर्ने मानिस कमै छन् ।

 



अर्घाखाँचीको खन गाविसस्थित कालिका नेरा उच्च मावि १० थान कम्प्युटर प्रदान गरिँदै । तस्बिर : प्रेमनारायण आचार्य, अर्घाखाँची डट्कम

साना देखि ठुला सबैको खुसी साट्ने र विरह पोख्ने माध्यम सामाजिक सञ्जाल बनेका छन् । फेसबुकको दुरुपयोग गर्दा कतिपय मानिसले साइबर क्राइम अन्तर्गत सजाय समेत भोगिरहेका छन् ।



अर्घाखाँचीमा भने फेसबुकबाटै आधुनिक शिक्षा अभियान सुरु भएको छ । फेसबुक च्याटबाटै जिल्लामा आधुनिक शिक्षा अभियानको सञ्चालन गरिएको हो । न त कुनै सरकारी बजेट न त कुनै देशी तथा विदेशी गैरसरकारी संस्थाहरुको सहयोग । देश छाडेर रोजगारीमा विदेशिएका युवाहरुकै पहलमा यो सम्भव भएको हो ।



इच्छाशक्ति हुने हो भने गर्न नसकिने काम केही नहुने कुराको पुष्टि अर्घाखाँचीका युवाहरुले गरेका छन् । उनीहरुले फेसबुककै प्रयोग गरेर जिल्लाका सबै विद्यालयमा वैज्ञानिक र कम्प्युटर शिक्षा प्रदान गर्न आधुनिक शिक्षा अभियान सञ्चालन गरेका छन ।



६ महिनाअघि फेसबुकबाटै शुरु अभियानका क्रममा डिभर्ना गाविसमा रहेको बिजय उच्च माध्यमिक विद्यालय र खन गाविसमा रहेको कालीका नेरा उच्च माविमा १० थान कम्प्युर हस्तान्तरण गरिएको छ ।



अर्घाखाँचीमा आधुनिक शिक्षा अभियान संस्था जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा दर्ता गरी त्यसको अभियानबारे फेसबुकमा जानकारी गराएपछि विदेशमा रोजागरी गरिरहेका युवाहरु सहयोगका लागि कसिएका हुन् ।



अभियानबारे फेसबुकमा जानकारी गराएपछि सहयोग जुट्न थालेको अभियानका परिकल्पनाकार राजु खड्काले बताए ।  कम्पयुटर र प्राविधिक शिक्षा नहुँदा नेपाली विदेशिनु परेको र विदेशमा पनि राम्रो काम पाउन प्रविधियुक्त शिक्षा आवश्यक रहेकाले यो अभियान शुरु भएको हो, खड्काले भने,  मैले जस्तै सिप र प्रविधि नजान्दा विदेशमा गएका अर्घाखाँचीका युवायुवतीले पाएको दुःख र कष्ट अबका पुस्ताले ब्योहर्न नपरोस भनी यो अभियान थालेका हौं ।



यो अभियानमा जसले जहाँबाट सहयोग जुटाए पनि सहयोग गर्ने मानिसको नाम र सहयोग रकम फेसबुकको पेजमै राखिन्छ । सहयोग पारदर्शी हुने भएकाले सहयोगीहरु पनि बढ्ने क्रम जारी छ ।



बहराइनमा रहेका संस्थाका अध्यक्ष युवराज खत्रीको सक्रियतामा विजय उमाविमा १० थान कम्प्युटर प्रदान गरिएको छ । त्यस्तै खनका युवा युवतीको सहयोगमा १० थान  कम्प्युटर वितरण गरिएको छ ।



यसलगत्तै सार्बजनिक उच्च मावि छत्रगञ्ज, सुधा उच्च मावि जुकेना, सिद्ध मावि बागी, ज्ञानप्रकाश मावि सल्लीकोट डिभर्ना, सरस्वती मावि सितापुर , शिवमदन उमावि सतिनेटा र नुवाकोट मावि चिदीचौरमा शैक्षिक सामाग्री हस्तान्तरण गरिने सस्थाका महासचिव सुदन खड्काले बताए ।

 

सार्वजनिक उच्च मावि छत्रगञ्जको लागि भारतमा रहेका मोहन रानाभाट,  सुधा उच्च मावि जुकेनाको लागि अफ्रिकामा रहेका तुलसीराम भण्डारी र मलेसियामा रहेका युवराज पौडेल,  सिद्ध मावि बागीको लागि कतारमा रहेका रामप्रसाद पराजुलीले सहयोग संकलन गरिरहेका छन् ।



त्यस्तै  ज्ञानप्रकाश माबि सल्लीकोट डिभर्नाको लागि बहराइनका रामु घिमिरे,  सरस्वती मावि सितापुरका लागि दुबईमा रहेका भीम खनाल र श्याम खनाल, शिवमदन उमावि सतिनेटाको लागि दुबईमा रहेका श्रीधर महत्रा र  नुवाकोट मावि चिदीचौरकालागि बहराइनमा रहेका सुर्य थापा  शैक्षिक सामाग्रीका लागि सहयोग जुटाएर छिटै हस्तान्तरण गरिने अभियानका अध्यक्ष युवराज खत्रीले बताए ।



त्यसैगरी जिल्लामा रहेका सम्पुर्ण उच्च मावि, मावि , निमावि र प्राविमा सहयोग जुटाई शैक्षिक सामाग्री हस्तान्तरण गरिने बताइएको छ । समयअनुसारको प्रविधियुक्त शिक्षा दिन यो अभियानले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा गरिएको छ ।  

अन्य समाचारहरु