पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनको शोकमा परेको राप्रपाले बिहीबार बिहान पार्टीको बैठक बोलाएको छ । थापाको ८८ वर्षको उमेरमा भारतको मेदान्त अस्पतालमा निधन भएको छ ।
शुक्रबार उनको आन्द्राको सफल सल्यक्रिया भएको थियो । थापाको उपचारका क्रममा बुधबार राति निधन भएको हो ।
स्वास प्रस्वासमा समस्या भएपछि थापालाई भेन्टिलेटरमा राखिएको थियो । उनको उपचारकै क्रममा निधन भएको राप्रपाका सहायक प्रवक्ता किरण गिरीले जानकारी दिए ।
संविधानसभाका जेष्ठ सदस्य समेत रहेका थापाले गत चैत ५ गतेमात्र ८८ औं जन्म दिन मनाएका थिए । उनी चैत १६ गते उपचारका लागि दिल्ली गएका थिए ।
डाक्टरहरूले १५ दिन अस्पतालमा बस्नु पर्ने बताएका थिए । तर, बुधबार साँझ स्वासप्रवासमा समस्या बढेपछि भेन्टिलेटरमा राखिएको थियो ।
धनकुटाको मुगामा जन्मिएका थापा ५ पटक प्रधानमन्त्री भएका थिए । २०१५ सालमा राजा महेन्द्रले संसदको निर्वाचन घोषणा गरेपछि गठित सल्लाहकार सभामा थापा अध्यक्ष थिए । पछिल्लो पटक उनी शाही कालमा प्रधानमन्त्री भएका थिए ।
थापाका छोरा सुनिल थापा बाणिज्यमन्त्री छन् । उनी बाबुलार्इ लिएर उपचारका लागि दिल्ली गएका थिए । संचारमाध्यममा समाचार छ ।