जाजरकोटमा तीन सातादेखि फैलिएको स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु, मृत्यु हुनेको सङ्ख्या २१

जाजरकोटमा तीन सातादेखि फैलिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप तीन जनाको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ। 
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार अर्छानी गाविस-२ का ५० वर्षीय बादी टमटा, अर्छानी-७ का ५८ वर्षीय हंशबहादुर टमटा र अर्छानी-४ का दुई वर्षीया बालिका ऋतु टमाटाको उपचारका क्रममा मृत्यु भएको छ। 
दरबन्दीअनुसारको स्वास्थ्यकर्मी नहुँदा झन कठिन्
जाजरकोटको ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या भएको छ। 
दुई सय ३५ जना स्वास्थ्यकर्मीको दरबन्दीमा १७४ जनाको पदपूर्ति भएको छ भने ६१ जना स्वास्थ्यकर्मीको दरबन्दी खाली रहेको छ। मेडिकल अधिकृत दुई जनाको दरबन्दी खाली रहेको छ। 
वरिष्ठ जनस्वास्थ्य अधिकृत एक जना खाली रहनुका साथै हाल निर्मितको भरमा काम चलिरहेको छ। सिनियर अहेब नौ जनाको दरबन्दी रिक्त रहेको छ। 
त्यस्तै चार जना अहेबको दरबन्दी खाली रहेको छ। चार जना स्टाफ नर्सको पद खाली रहेको छ। त्यस्तै एक जना मेडिकल सुपरिटेन्डेन्ट रिक्त रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 
त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा स्वीकृत १२ जनाको दरबन्दीमध्ये अहिले जम्मा पाँच जनाको पदपूर्ति भएको छ भने सात जना रिक्त रहेको छ। यहाँ मेडिकल अधिकृतदेखि स्टाफ नर्स, अहेबसम्म खाली रहेको छ। 
प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ११ जनाको दरबन्दी रहे तापनि अहिले छ जनाको पदपूर्ति भएको तथ्याङ्कमा देखिन्छ भने पाँच जनाको दरबन्दी रिक्त छ। 
यहाँ पनि मेडिकल अधिकृतको दरबन्दीदेखि अहेबसम्मको दरबन्दी खाली रहेको छ। स्वास्थ्य चौकी टालेगाउँमा छ जनाको दरबन्दी लिष्टमा देखिन्छ भने अहिले कार्यालयमा तीन जनाले काम सञ्चालन भइरहेको छ। 
यहाँ पनि सिनियर अहेब खाली रहेको छ। यो अहिले सिजिनल फ्लुबाट प्रभावित क्षेत्र हो। 
यस्तै जिल्लाका अधिकांश ग्रामीणस्तरमा रहेका स्वास्थ्य केन्द्रमा दरबन्दी देखाए पनि काममा नखटी काजमा अर्कै ठाउँमा काम गरिरहेको देखिन्छ। 
अहिलेसम्म रोग प्रभावित क्षेत्रमा सयौँ बिरामीको उपचार गरिएको बताएको छ। जिल्लाको पैँकमा एक हजार २००, सक्लामा १७८, पजारुमा ४२१, नायकवाडामा १०० र अर्छानी र टालेगाउँमा स्वास्थ्यकर्मी भर्खर परिचालन भएका छन्। – रासस