एमाले अर्घाखाँचीद्धारा रामनाथको सम्झनामा श्रद्धाञ्जली सभा

अर्जुन भुसाल 
सन्धिखर्क,  अर्घाखाँची वैशाख ४ । नेकपा एमाले अर्घाखाँचीले पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज रामनाथ ढकालको १३ औं दिनको पुण्य तिथिको दिन पारेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । पूर्व राज्य व्यवस्था समितिका सभापति समेत रहेका ढकालको चैत्र २१ गते दिउसो स्वाइन फ्लू र क्षयरोगका कारण काठमाडौंमा ग्रान्डी अस्पतालमा निधन भएको थियो  । 
नेकपा एमाले स्थायी समिति सदस्य किरण गुरुङ्गले सभालाई सम्वोधन गर्दै ढकालको निधनले पार्टीलाई निकै ठूलो क्षति पुगेको बताए । उनले ढकाल निडर स्वभावको नेता भएको चर्चा गर्दै पार्टी काममा खेलेको भूमिकाको उच्च प्रशंसा गरे । ‘उहाँ (ढकाल) मा समय अनुसार चल्ने सक्ने छुट्टै विशेषता थियो’ उनले भने, ‘उहाँको अभाव पार्टीमा सधै खड्कीरहने छ ।’ उनले रामनाथलाई सुरुमा पार्टीमा संगठित गरेर यो अवस्थामा सम्म ल्याउने व्यक्ति आफू नै भएको बताए । ‘पोखराको पृथ्वीनारायण शाह क्याम्पसमा उहाँले पढ्दा मैले सदस्यता प्रदान गरेर काममा लगाएको हुँ’ उनले भने, ‘पार्टीमा निकै प्रभावशाली ढंगले अघि आउनु भएको थियो ।’ उनले रामनाथलाई आन्दोलनलाई उत्कर्षमा पु-याउने र ठूलो मासलाई एकतृत गर्ने क्षमता भएको नेताको रुपमा चित्रण गरे । 
 राजनीतिक प्रशंगमा उनले एमाओवादी र मधेशवादी पार्टीहरुले जातीय राज्यको कुरा झिकेर संविधान निर्माण पक्रियालाई अवरोध पु-याएको बताए ।  उनले  सबै पार्टी जिम्मेवार भएर संविधान लेख्ने काममा लाग्नु पर्ने भन्दै संविधान निर्माण नगरि देशमा स्थायी शान्ति वहाली हुन नसक्ने बताए । 
श्रद्धाञ्जली सभामा नेकपा एमालेका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज नजिर मियाँ, केन्द्रीय सदस्य वोमबहादुर विक, क्षेत्र नं. २ का संविधान सभा सदस्य डा दुमनसिंह थापा, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यहरु नरेन्द्र कुमार क्षेत्री, पिताम्मर भुसाल, अञ्चल कमिटीका पूर्व सदस्य रामजीप्रसाद घिमिरे लगायतले मन्तव्य राख्दै पार्टी जीवनमा ढकालले खेलेको भूमिकाको चर्चा गरेका थिए ।  
कार्यक्रम  एमालेका जिल्ला कार्यवहाक अध्यक्ष जीवनारायण कोइरालाको अध्यक्षता र सचिव रामबहादुर चौहानको सञ्चालनमा सम्पन्न भएको हो । 

अन्य समाचारहरु