वीरेन्द्र केसी
सन्धिखर्क, अर्घाखाँची । तीन दिनदेखी सदरमुकाममा खानेपानीको अभावमा हाहाकार मच्चिएको छ । लिफ्ट प्रविधिमा समस्या आएपछि धारामा पानी आउन छाडेको छ । वागी खोलाबाट लिफ्ट प्राविधि मार्फत डाँडोमा तानेर ट्यांकीमा जम्मा गरी दिनमा एक घण्टा पानी वितरण गरिदै आएको छ ।
पानी तान्ने मेसिन जलेपछि मंगलवारबाट सदरमुकामका साढे १३ सय धारामा पानी नआउँदा हाहाकार मच्चिएको छ । सिंगो बजारमा वितरण गरिने खानेपानीको स्रोत नै बन्द भएपछि सन्धिखर्क, चुत्रावेशी, हललाईन लगायतका बजारवासी मर्कामा परेका छन । दस वर्ष अघि माटे खोला र खाँची खोलाबाट सदरमुकाममा ल्याईएको खानेपानीको मुहान सुक्दै गएको र बजारमा घर बढदै गएपछि खानेपानीको समस्या हल गर्न पाँच वर्षदेखि वागी खोलाबाट जमिनमुनिको पानी लिफ्ट प्रविधिबाट पानी तानिएको हो । ‘पानी तान्ने मेसिन पुरै जलेको छ’, सन्धिखर्क खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष रामबहादुर रायमाझीले भने, ‘भैरहवाबाट प्राविधिक बोलाईएको छ मेसिन (मटर) बनाउन अझै पाँच दिन लाग्छ ।’ करिब दुई किलोमिटर उचाईको डाँडोमा रहेको टंयांकीमा खोलाबाट पानी तानिएको छ ।
माटे र खाँची खोला मुहानबाट पानी वितरण गरिएको छ । त्यतिले पुग्दैन । अरु वैकल्पिक उपाय छैन । एक साता सदरमुकामवासी पानीको हाहाकारमै बस्ने पर्ने बाध्यता रहेको छ । आकस्मक मेसिन जलेकाले समस्या भएको रायमाझीले बताए । पानी नहुँदा सौचालय दुर्गन्धित भएका छन । नुहाउन, कपडा धुन र पिउन संकट छ । झण्डै ५० हजार जनसंख्या रहेको सदरमुकाममा धारामा पानी नआएपछि ग्यालेन, गाग्री बोकेर कुवामा पानी खोज्दै हिडन थालेका छन ।