दुई वर्षमा अर्घाखाँचीका १८ प्राथमिक स्कुल बन्द

वीरेन्द्र केसी



सन्धिखर्क, अर्घाखाँची । विद्यार्थी न्युन भएको भन्दै दुई वर्षमा १८ प्राथमिक विद्यालय बन्द भएका छन । शिक्षा कार्यालयले बन्द गर्ने अभियानलाई तीव्रता दिएको छ । गत वर्ष नौ र अहिले पनि नौ बटै प्रावि बन्द भए । केही महिना अघि जिल्ला शिक्षा समितिले २० स्कुल अनुगमन गरेपछि यस वर्ष नौ वटा बन्द गर्ने बैठकले निर्णय गरेको शिक्षा अधिकारी धनसिंह धामीले बताए । वडा र टोलैपिच्छे खोलिएका स्कुलमा विद्यार्थी संख्या शुन्य जस्तै छ । 



कुनै बेला विद्यार्थीको चापले भरीभराउ हुने कक्षाकोठा अहिले रित्तिदैछन । बन्द गरिएको विद्यालयमा अति न्युन विद्यार्थी थिए । ३ कक्षा सम्म पढाई हुने सुर्याेदय प्रावि वागीमा ६ जना विद्यार्थी थिए । महाकाली प्रावि खिदिममा कक्षा १ मा २ जना, २ मा ४ र ३ मा शुन्य रहेका थिए । सुर्याैदय र महाकाली जस्तै ठाडाको परोपकार प्रावि, पटैटीको जगदम्बा प्रावि, छत्रगंजका ज्योती र छत्रेश्वर प्रावि केरुगाको नवज्योती प्रावि, बल्कोटको काभ्रे र बल्कोट प्राविमा शैक्षिक शत्रबाट समायोजन गरिएको उनले बताए । आउदो वर्ष पनि यही संख्यामा स्कुल बन्द हुने संभावना रहेको धामीको दावी छ । प्राविमा विद्यार्थी नहुनुको कारण के हो त ? ‘धनीका छोराछोरी बोडिङ र गरिबका सरकारीमा’, शिक्षक लक्ष्मण सापकोटाले भने, ‘पैसा नहुनेले मात्रै सरकारीमा पठाउछन ।’



शिक्षकले  आफनो पेशा भन्दा पनि दल र नेताप्रति बफादार भएकाले स्कुल बिग्रिएका छन ।  ठेक्कापट्टा अरु व्यावसाय र राजनीति गर्नाले गुणस्तर घटेकाले स्कुल संकटमा रहेको धामीले दावी गरे । नीजिप्रति आकर्षण बढदो छ । ‘विद्यालय व्यवस्थापन समितिमा नक्कली अभिभावक बनी दलका नेताले हस्तक्षेप गर्दा शैक्षिण गुणस्तर घटदो छ’, स्रोत व्यक्ति खडानन्द भुसालले भने, ‘कुन दलको अध्यक्ष र संख्या कति भन्ने दौडधुप छ त्यसैले नेताले स्कुलमा राजनीति गर्दा स्कुल धरासायी बन्दै गए ।’ सरकारले शिक्षक, कर्मचारी र नेताका छोराछोरीलाई अनिवार्य सरकारी स्कुलमा पढाउनुपर्ने कानून नबनाएसम्म निमावि र माविको हालत पनि प्राविको जस्तै हुने भुसालले बताए । 



शिक्षा कार्यालयले अनुगमन नगर्दा गुणस्तर खस्केको सरोकारवालँको भनाई छ ।  पहिलेको जस्तै अभिभावकले छोराछोरी थोरै जन्माए त्यसैमा पनि नीजिमा आकर्षित हुँदै गाउँ छाडेर शहर झरेकाले स्कुलमा विद्यार्थी संख्या न्युन भएको वैद्यनाथ माविका प्रअ रामबहादुर बस्नेतले बताए । 

अन्य समाचारहरु