काठमाडौं । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या सचिव शान्तबहादुर श्रेष्ठले जाजरकोटमा फैलिएको प्रकोप नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।
राजधानीमा शनिबार रिपोर्टस् क्लबले गरेको साक्षात्कारमा बोल्दै उनले प्रकोप नियन्त्रणको लागि स्वास्थ्यकर्मी र औषधिको कमी नभएको दाबी गरे । उनले महामारी क्रमशः नियन्त्रणमा आउन थालेको पनि बताए ।
रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले रोग नियन्त्रणका लागि शनिबारै औषधिसहितको २१ जनाको चिकित्सक टोली त्यसतर्फ पठाइसकिएको जानकारी दिए । उनले प्रकोपबाट ६ गाविस प्रभावित भएको बताए ।
जाजरकोटका सभासद राजीवविक्रम शाह, शक्ति बस्नेतलगायतले प्रकोप नियन्त्रणका लागि सरकार संवेदनशील नभएको भन्दै प्रभावित क्षेत्र घोषणा गरी विशेष स्वास्थ्यसेवा सन्चालन गर्नुपर्नेमा जोड दिए ।
प्रभावित क्षेत्र धेरै विकट भएकाले थप उपचारका लागि समस्या भएको र रोग नियन्त्रण गर्ने सरकारी प्रयास निष्प्रभावी देखिएको बताइएको छ । – इमेजखबरमा समाचार छ ।