जाजरकोट । जाजरकोटमा मौसमी रुघाखोकी र ज्वरोका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै यहाँ मौसमी फ्लुका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
मंगलबार बिहान रामीडाँंडा गाउँ विकास समिति वडा नम्बर-७ का ६१ वर्षीय लालजीत नेपालीको मृत्यु भएको हो ।
प्रकोप नियन्त्रण र बिरामीको उपचारका लागि सरकारी सक्रियता बढाइएपनि जाजरकोटमा मृत्यु हुनेक्रम भने रोकिएको छैन । प्रभावित क्षेत्रमा सोमबार र मंगलबार पर्याप्त स्वास्थकर्मीको टोली र औषधि पठाइएको छ ।
काठमाडौंबाट गएका टोलीले प्रभावित क्षेत्रहरुमा छुट्टछुट्टै शिविर सन्चालन गरेका छन् । काठमाडौंबाट गएका चिकित्सकको टोलीले पइक, कालिका, डालेगाउँ, बझारु, अर्छानी र दिमेमा बिरामीको उपचार गरिरहेका छन् ।
स्वास्थ्य मन्त्रालयका डा.गुणनिधि लोहनी र नेपाली सेनाका डा.अनिल डंगोलले सदरमुकाममा बसेर स्वास्थ्यकर्मी परिचालन गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतका अनुसार गाउँ-गाउँ पुगेको टोलीले उपचार, औषधि वितरणसहित चेतनामूलक अभियान सन्चालन गरिएको छ ।
जिल्लामा एक मेडिकल सुपरिटेन्डेट, ६ डाक्टर, ३८ स्वास्थ्य सहायक, ६२ अहेव, ७३ अनमी, ४ जना स्टाफ नर्सको दरबन्दी छ । तर, तीमध्ये मेडिकल सुपरिटेन्डेट तीनजना र १६ जना स्वास्थ्य सहायकको दरबन्दी भने अझै रिक्त छ । इमेजखबरमा समाचार छ ।