सभासदहरुद्धारा जाजरकोटमा फैलिएको महामारीप्रति सरकार गम्भीर नभएको आरोप

काठमाडौं । सभासदहरुले जाजरकोटमा फैलिएको महामारीप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा सत्तारुढ दलकै सभासदले महामारीका कारण दुई दर्जनभन्दा बढीको मृत्यु हुँदा र सयौं प्रभावित हुँदा पनि राज्य गम्भीर नभएको आरोप लगाए ।
नेपाली कांग्रेसका सभासद अमरेशकुमार सिंहले पूर्वसभासद र सभासदको निधन हुँदा शोक प्रस्ताव पारित गरेर संविधानसभाको बैठक नै एक सातासम्म स्थगित गर्ने तर दुई दर्जनभन्दा बढी जनताको मृत्यु भएको विषयमा राज्यको कुनै निकायबाट पनि दुःख मनाउ नहुनु आपत्तिजनक भएको बताए ।
उनले जाजरकोटको महामारीका विषयमा राज्य पूर्णरुपमा संवेदनहीन बनेको आरोप लगाए ।
बैठकमा समितिका सभापति दिलबहादुर घर्तीले जाजरकोटको महामारीका विषयमा केही नबोली सामान्य प्रशासन मन्त्रालयको बजेट र कार्यक्रमका बारेमा सभासदहरुलाई धारणा राख्न भनेपछि कांग्रेस सभासद सिंहले सरकारसँगै समिति पनि संवेदनहीन बनेको आरोप लगाएका हुन् ।
बैठकमा एकीकृत नेकपा माओवादीका सभासद सन्तु दराइले महामारी नियन्त्रणको विषय स्वास्थ्य मन्त्रालयको मात्र जिम्मेवारी ठान्न नहुने भन्दै राज्यका सबै संयन्त्र परिचालन गर्न माग गरे । इमेजखबरमा समाचार छ ।