अफ्रिकाबाट अवैधरुपमा आप्रवासीहरु भित्रिनेक्रम बढेपछि त्यसलाई नियन्त्रण गर्ने रणनीति तय गर्न इटालीमा युरोपियन युनियनको आकस्मिक बैठक बसेको छ ।
बैठकमा मानव तस्करहरुले प्रयोग गर्दै आएको डुंगा ध्वस्तपार्ने जस्ता अधिकार सेनालाई दिनुपर्ने विषयमा छलफल हुने जनाइएको छ । इटालीले युरोपियन युनियनलाई तत्काल कुनै उपाय खोज्नपनि अपील गरेको छ ।
अवैध ढंगले भूमध्यसागरको बाटो हुँदै आप्रवासी भित्र्याउने तस्करहरुसँग आफ्नो देशको युद्धको जस्तो अवस्था बनेको पनि इटालीले जनाएको छ ।
गत आइतबार भएको डुंगा दुर्घटनाका आठ सय आप्रवासीसहित यस वर्ष मात्रै १ हजार ७ सय ५० जना आप्रवासीको समुद्रमा डुबेर मृत्यु भइसकेको छ ।
मध्यपूर्व र अफ्रिकी मुलुकहरुमा जारी द्धन्द्ध र गरिबीका कारण अवैध ढंगले डुंगामा क्षमताभन्दा बढी मानिस कोचेर ल्याउँदा थुप्रै मानिसको डुबेर मृत्यु हुने गरेको छ । (एजेन्सी)