काठमाडौं- नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि लागू हुने गरी लोडसेडिङ घटाएको छ। यसअघि साढे ८ घन्टा रहेको लोडसेडिङ अब दैनिक साढे ६ घन्टा मात्रै हुनेछ।
‘सातामा ५५ घन्टा विद्युत कटौती हुँदै आएकोमा अबदेखि ४७ घन्टा मात्रै हुनेछ,’ प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवनकुमार क्षेत्रीले भने, ‘यो वर्ष कुलेखानी जलाशयको पानी उचित व्यवस्थापन गरिएकाले लोडसेडिङ गत वर्षभन्दा कम भएको हो।’
प्राधिकरणले गत वर्ष यही समयमा दैनिक १२ घन्टासम्म विद्युत कटौती गरेको थियो। चालु हिउँदमा अधिकतम १४ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको थियो। तर, भारतबाट बढी विद्युत आयात गरिएको र कुलेखानीको पानी संचित पनि राम्रो भएकाले घटाउन सकिएको क्षेत्रीले बताए।
अहिले घटाइएको लोडसेडिङ ढल्केबरदेखि पश्चिम र कोहलपुरदेखि पूर्वी क्षेत्रमा मात्र लागु हुने प्राधिकरणले जानकारी दिएको छ। अहिले पूर्वमा दैनिक साढे ७ घन्टा र कोहलपुर पश्चित दैनिक ४ घन्टामात्रै लोडसेडिङ छ। एक दुई दिनभित्र पूर्वमा पनि घटाइने क्षेत्रीले जानकारी दिए। नागरिकन्युजमा समाचार छ ।