काठमाडौं – गृहमन्त्रालयका अनुसार महाभूकम्पमा मर्नेको संख्या ६८६ पुगेको छ । तथ्यांक अपडेट गर्ने काम भइरहेको गृहले जनाएको छ ।
महाभूकम्पमा काठमाडौं उपत्यकामा मात्रै ५०० बढीको मृत्यु भइसकेको छ । प्रहरीका अनुसार काठमाडौंमा २५०, भक्तपुरमा १५० र ललितपुरमा १ सय बढीको मृत्यु भएको छ । मृतकको संख्या अझैं बढ्न सक्ने अनुमान गरिएको छ ।
यसैगरी,भूकम्पमा परी काभ्रेमा ५४, धादिङमा ३५, मकवानपुरमा ९, ओखलढुंगामा १०, रामेछापमा ५, भोजपुरमा २, नुवाकोटमा ६, गोर्खामा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
हजारौ घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी प्रमुख प्रताप नारायण प्रसादका अनुसार अस्पतालमा ५० देखि ६५ शव छ । तीनसय बढी घाइतेको उपचार गराइरहेका छन् । अस्पतालको चौरमा राखेर घाइतेको उपचार भइरहेको छ ।
राजधानीको किष्ट अस्पतालमा १७ जनाको शव राखिएको छ । ६२ घाइतेको किष्टमा उपचार भइरहेको छ । राजधानीका बीर, पाटनलगायत सबै अस्पतालमा बिरामीको उपचार भइरहेको छ । घाइतेको पूर्ण विवरण आइसकेको छैन् ।
पुराना बस्ती बसन्तपुर, ठमेल, नरदेवी, झोंछेलगायतका स्थानमा बढी क्षति भएको छ । भूकम्पका कारण ऐतिहासिक धरहरा ढलेको छ । बसन्तपुर र पाटन दरबार स्क्वायर ध्वस्त भएका छन् ।
भयका कारण घरबाट निस्किएका सर्वसाधारण खुला चौर र सडकमा आएर बसिरहेका छन् ।
सरकारले अकल्पनीय संकटको घडीमा धैर्य गर्दै उद्धार र राहतको अभियानमा लाग्न सबैलाई आह्वान गरेको छ ।
कार्यवाहक प्रधानमन्त्री बामदेव गौतमको अध्यक्षतामा शनिवार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले भुकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरि राज्यको सम्पूर्ण शक्ति उद्धार कार्यमा लगाउने निर्णय गरेको छ ।
अपरान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रविन्दू बनाएर सात दशमबल ६ रेक्टरको भूकम्प गपएको र त्यसपछि लगातार ७ पटकसम्म ठूलो भूकम्प आई जनधनको क्षति भएको सरकारले जनाएको छ । बैठकले तत्कालै उद्धार र राहतका लागि ५० करोड रुपैया निकासा गर्ने निर्णय गरेको उद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए ।
त्यस्तै केन्द्रीय राहत तथा उद्धार केन्द्र मार्फत सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गर्ने र हेलिकोप्टर तयारी हालतमा राखिएको मन्त्री बस्नेतले अनलाइखबरलाई जानकारी दिए । सरकारले काठमाडौंका बिभिन्न नौ स्थान, भक्तपूरका दुई स्थान र भक्तपूरका ६ स्थानमा राहत तथा उद्धार केन्द्र स्थापना गरेको छ । मन्त्री बस्नेतका अनुसार भुकम्प प्रभावित सबै जिल्लामा राहत तथा उद्धार केन्द्र स्थापना गरिदैछ । सरकारले उद्धारका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेको छ ।
बैठकले मृत्यु भएका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति दिने र घाइतेको उपचारखर्च सम्पूर्ण सरकारले व्यहोर्ने निर्णय गरेको मन्त्री बस्नेतले बताए । सबै अस्पताल चौबिसै घण्टा खुला गरेर डाक्टर र स्वास्थ्यकर्मी परिचालन गर्ने निर्णय समेत गरेको छ । सबै खुला ठाउमा टेण्ट टाँगेर स्वास्थ्य सेवा, खानेपानी, खाद्यान्न सेवा उपलव्ध गराउन लागिएको बस्नेतले बताए ।