काठमाडौं । हिजो गएको शक्तिशाली भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म काठमाडौं उपत्यका र जिल्लाहरुमा गरी मृत्यु हुनेको संख्या १८ सय ९६ पुगेको छ ।
गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार अहिलेसम्म करीब ४७ सय १८ व्यक्ति घाइते भएका छन् । भूकम्पबाट २९ जिल्ला प्रभावित भएकाले मृतक र घाइतेको संख्या अझै बढ्ने अनुमान गरिएको सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले जानकारी गराएका छन् ।
११ जिल्लालाई अति प्रभावित र संकटग्रस्त घोषणा गरिएको छ । अर्बौं क्षति भएको छ । संकटग्रस्तमा राजधानीका तीनै जिल्लासहित वाग्मती अञ्चलका सबै जिल्ला र गोर्खा जिल्लालाई घोषणा गरिएको छ ।
संकटग्रस्त जिल्लामा एक साताका लागि विद्यालयहरु बन्द गरिएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण राजधानी उपत्यकामा हिजैदेखि अवरुद्ध भएको विद्युत सुचालु हुन अझै केही दिन लाग्ने जनाइएको छ ।
स्यूचाटारस्थित भार प्रेषण केन्द्रको विद्युत वितरण तथा नियन्त्रण गर्ने केन्द्रमा क्षति पुगेकाले विजुली नहुँदा काठमाडौं अन्धकार भएको हो ।
हिजो विहान ११ः५७ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भई ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । मापन गरिएको भूकम्पपनि हिजो दिन र रातभर दर्जनौं पटक भूकम्पको झड्का महशूस गरिएका छन् । ६, ५ र ४ रेक्टर स्केलका भूकम्पको धक्का महशूस गरिएको हो ।
आजै विहान पनि करीब ६ रेक्टर स्केलको झड्का महशूस गरिएको छ । भूकम्पबाट काठमाडौं उपत्यकामा मात्र सयौको मृत्यु भएको छ । हिजो दिउँसो र मध्य रातसम्म पनि एकोहोरो भूकम्पको झड्का आइरहेकाले मानिसहरु सबैले खुला आकाशमुनी रात कटाएका छन् ।
काठमाडौं चक्रपथको दुबै किनारामा रातभर मानिसहरु बसेका थिए भने उपत्यकाका भित्री सडक र खुला स्थानमा बसेर रात कटाएका थिए ।
रसुवाको कार्यक्रम सकाएर नुवाकोट हुँदै फर्कदै गर्दा काठमाडौंका पूर्व सभासद चक्र ठकुरीको सडकमाथिबाट खसेको ढुंगा लागेर निधन भएको छ ।
राति अबेरसम्मको तथ्यांक अनुसार काठमाडौंमा २ सय ७०, भक्तपुरमा १ सय ९० तथा ललितपुरमा १ सय ७ जनाभन्दा बढीको मृत्यु भएको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा सुन्धारास्थित भीमसेन धरहरा भत्किंदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ । काठमाडौंको पूर्वी भेगको पुरानो नगर साँखुमा ४० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भद्रगोल जेलमा भवन भत्कँदा १३ जना कैदीबन्दीको मृत्यु भएको छ ।
च्यापिएका तीन जनाको उद्धार हुँदैछ । काठमाडौं