महाभूकम्पमा पुरिने र चेपिनेको जीवितै उद्धार गर्नेलाई हौसलास्वरुप प्रतिव्यक्ति रु ५० हजार घोषणा

विश्व नेपाली साहित्य महासङ्घले महाभूकम्पमा पुरिएका र चेपिएकाहरुको तत्कालै विवेकपूर्ण र बहादुरीपूर्वक उद्धारमा संलग्न महानुभावलाई हौसलास्वरुप नगद प्रतिव्यक्ति रु ५० हजार घोषणा गरेको छ ।
उद्धारमा प्रभावकारी काम हुन सकोस् भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका र चेपिएकाहरु २१ दिनपछिसम्म पनि जीवितै भेटिएको घटना भएको कारण जीवितै भेट्ने आसका साथ जोडतोडले उद्धारमा लाग्न महासङ्घ बैठकले बुधबार अनुरोध गरेको छ । 
उद्धारमा संलग्न सर्वसाधारण, सेना, प्रहरी जो कसैलाई उनीहरुको कार्यको मूल्याङ्कन गरी नगदसहितको पुरस्कार १० जनालाई दिने लक्ष्य राखिएको महासङ्घका अध्यक्ष विश्वासदीप तिगेलाले बताए। रासस