महाभूकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार ६ सय २४, १४ हजार २५ जना घाइते, उद्धार कार्य जारी

Strong earthquake and aftershocks shake Nepal

(Omar Havana/Getty Images)

 

काठमाडौं  । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ६ हजार ६ सय २४ पुगेको छ । १४ हजार २५ जना घाइते भएका छन् ।



कैयौं व्यक्ति अझै वेपत्ता छन् । मृतक र घाइतेको संख्या बढ्ने क्रम जारी रहेको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।



भूकम्पबाट करीब डेढ लाख घर पूर्ण रुपमा र त्यत्तिकै संख्यामा आंशिक रुपमा क्षतिग्रस्त भएको नेपाल आपतकालिन उद्धार केन्द्रले जनाएको छ ।



सिंहदरवारमा पत्रकार सम्मेलन गरी संचारमन्त्री डा.मिनेन्द्र रिजाल र अर्थमन्त्री डा रामशरण महतले हालसम्म प्राप्त क्षतिको विवरण सार्वजनिक गरे ।



पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. महतले सरकारी ढुकुटीमा हालसम्म बैदेशीक सहयोग प्राप्त नभएको बताए । एशियाली विकास बैंकसँग ३० करोडको सम्झौता भएको र भुटानले दिएको १० लाख डलरको चेक साट्न बाँकी रहेको उल्लेख गर्दै उनले अहिलेसम्म नगद जम्मा भइनसकेको जानकारी दिए ।



अर्थमन्त्री महतले टेन्ट खरिदमा सिमित अवधिका लागि भन्सार छुट दिने ब्यवस्था गर्न लागिएको पनि बताए ।



उनले सरकारी संयन्त्रभन्दा बाहिरबाट राहत वितरण गरेर सरकारलाई नै कमजोर पार्न खोजिएको आरोप लगाए । मन्त्री महतले सरकार आफैले राहत वितरणलाई ब्यवस्थित गर्न नसकेको भने स्वीकारेनन् ।



भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्लासहित भूकम्पबाट प्रभावित सबै जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।



जनधनको ठूलो क्षति ब्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, दोलखा र लमजुङ छन् । घाइतेहरुको काठमाडौ र प्रभावित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ ।



हालसम्म सबैभन्दा बढी सिन्धुपाल्चोकमा २४ सय, काठमाडौंमा ११५२, नुवाकोटमा ७५९, धादिङमा ६५१, गोरखामा ४१०, रसुवामा ३०६, काभ्रेमा २९३,  भक्तपुरमा २६९, ललितपुर १७१, दोलखा ६२, मकवानपुर ३४ र अरु विभिन्न जिल्लामा ११४ जनाको मृत्यु भएको बताइएको छ ।



उता, युरोपियन युनियनले आफ्ना एक हजार नागरिक कहाँ छन् भन्ने अझै एकिन नभएको जनाएको छ ।



सगरमाथा र लाङटाङ क्षेत्रमा गएका उनीहरुका अवस्था अझै अज्ञात रहेको ईयूले जनाएको हो । यूरोपेली देशका १२ जनाको मृत्यु भएको पनि उसले पुष्टि गरेको छ । इमेजखबरमा समाचार छ ।