भूकम्पमा परेर रसुवामा ३०४ जनाको निधन, ३०० को हाराहारीमा बेपत्ता

काठमाडौँ । रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ ।
सो जिल्लामा भूकम्पमा परेर ३०४ जनाको निधन भएको थियो । हालसम्म उत्तरी लाङ्टाङ गाविसमा मात्रै ३०० को हाराहारीमा नागरिक बेपत्ता भएको अनुमान गरिएको छ । सो जिल्लामा भूकम्पमा परेर घाइते भएका ८०० मध्ये अधिकांश प्राथमिक उपचारपछि घर फर्किसकेका छन् ।
गत शनिबार गएको भूकम्पमा परी सो जिल्लाका १८ वटै गाविसका ९० प्रतिशत अर्थात् ९ हजार घर पूर्ण क्षतिमा परेको प्रारम्भिक अनुमान गरिएको सहायक प्रजिअ गौतम रिमालले जानकारी दिए ।
लाङ्टाङ क्षेत्रबाट भूकम्पमा परेर फसेका ३०० भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकलाई उद्धार गरिएको उनले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयले राहतलाई प्रभावकारी तुल्याउन पाँच टोली गठन गरेकामा सो टोलीले काम सुरु गरिसकेको छ ।
हालसम्म दुई हजार २०० थान पाल पीडित परिवारलाई वितरणका लागि पठाइसकिएको जानकारी दिँदै उनले जिल्ला रेडक्रसले १०० थान कम्बल र विश्व वन्यजन्तु कोषले उपलब्ध गराएको १६० थान पाल उपलब्ध गराएको बताए ।भूकम्पबाट जिल्लामा नवनिर्मित जिल्ला अदालतबाहेक अन्य सबै सरकारी कार्यालय क्षतिग्रस्त भएका छन् । रासस