विनाशकारी भूकम्पयता आठ लाख काठमाडौँ उपत्यकाबाट बाहिरिए, निरन्तर छाडदै

गत शनिबारको विनाशकारी भूकम्पयता सात लाख ९२ हजार ६२३ जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
वैशाख १३ गते ८१ हजार ७६१, १४ गते ९९ हजार ८३३, १५ गते एक लाख ५३ हजार ८१२, १६ गते एक लाख ३१ हजार ३६५, १७ गते एक लाख ३७ हजार ७४४, १८ गते एक लाख ४ हजार ९९६ जना र वैशाख १९ गते साँझसम्म ८२ हजार १४२ यात्रु बाहिरिएका ट्राफिक प्रहरीले जनाएको छ ।
सोही अवधिमा एक लाख ६१ हजार ६७४ यात्रु, र ३५ हजार १७२ सवारी साधन उपत्यका भित्रिएका छन् ।
महानगरिय प्रहरी परिसर र अपराध महाशाखा टेकुमा स्थानान्तरण
गत शनिबार गएको विनाशकारी भूकम्पले महानगरीय प्रहरी परिसर र महानगरीय प्रहरी अपराध महाशाखा हनुमानढोकामा क्षति पुगेपछि आजदेखि टेकुस्थित नेशनल ट्रेडिङ लिमिटेडको कार्यालय रहेको भवनमा स्थानान्तरण गरिएको छ ।
अनुसन्धानको क्रममा उक्त कार्यालयको हिरासतमा रहेका थुनुवालाई हाल महानगरीय प्रहरी मुख्य घटना सहायता कार्यदल, भृकुटीमण्डप, प्रदर्शनी मार्गमा सारिएको प्रहरीले जनाएको छ । रासस