गोर्खामा राहतको लागि पर्खाई । तस्बिर: एपी
भैरहवा । भूकम्प पीडितका लागि भारतबाट पठाइएको राहत सामग्री नै रुपन्देही सिद्धार्थ नगरपालिकाका एक व्यापारीले लुकाएर राखेको फेला परेको छ ।
भारतको वाराणसीमा रहेको कैलाशपुरी सेवा आश्रमबाट यूपी ६३ जे ९१०० नम्बरको ट्रकमा ल्याइएको राहत सामाग्री एयरपोर्टनजिक आचार्य राइस मिलमा लुकाइ राखिएको अवस्थामा प्रहरीले बरामद गरेको हो ।
मिल सञ्चालक हेम शर्मा हुन् । भन्सार छुटाएर ल्याएपनि राहत को मार्फत र कसका लागि ल्याइएको भन्ने विवरण स्थानीय प्रशासनलाई दिइएको छैन ।
बरामद गरिएका सामग्रीमा एक सय कार्टुन बिस्कुट, ५० क्वीन्टल चना, सय थान कम्बल, १५ थान टेन्ट, ५१ कार्टुन फ्रुटी र धुलो दूध र चियापत्ति रहेको एसपी राजेन्द्र ढकालले जानकारी दिए ।
गाडीबाट झिकेर गोदाममा थन्क्याई चाबी लगाएको अवस्थामा सामग्री प्रहरीले फेला पारेपनि मिल सञ्चालक शर्माले भने चालकले राहत लैजान नसक्ने बताएपछि आफ्नो गोदाममा राखिएको बताएका छन् । इमेजखबरमा समाचार छ ।