भूकम्पबाट उपत्यकाका पुरातात्त्विक महत्त्वका ९० प्रतिशत मन्दिर एवं स्मारकहरू पूर्णरूपमा क्षतिग्रस्त

An earthquake victim walks past a collapsed temple in Sankhu

Photo: REUTERS/Adnan Abidi



काठमाडौ  –  उपत्यकाका पुरातात्त्विक महत्त्वका ९० प्रतिशत मन्दिर एवं स्मारकहरू भूकम्पले पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । गत शनिबार आएको विनाशकारी भूकम्पले विश्व सम्पदा सूचीमा रहेका दरबार, मन्दिर, ऐतिहासिक सम्पदा र सत्तल क्षतिग्रस्त भएका हुन् । 



पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार पाटन, भक्तपुर र काठमाडौं दरबार क्षेत्रमा रहेका सम्पदामध्ये अधिकांश क्षतिग्रस्त भएका हुन् । विभागले तयार पारेको प्रारम्भिक प्रतिवेदनअनुसार नौतले दरबार, माजुदेवल, काष्ठमण्डप, कृष्णमन्दिर, दसमहाघर, प्रताप मल्लको सालिक, नारायण मन्दिर, लक्ष्मीनारायण मन्दिर, विश्वम्भर मन्दिर पूर्णरूपमा भत्किएका छन् । 



यस्तै पूरा भत्किने अन्य संरचनामा कागेश्वर मन्दिर, तलेजु प्रवेशद्वारको शिवमन्दिर, देगू तलेजु मन्दिर, दसैंघरको शिव मन्दिर, ढुकुटी दरबार र लौहचौकको भक्तपुर टावरलगायत छन् । 



‘पुर्खाको परिश्रम पसिनाले निर्माण भएका हाम्रा पहिचान, गौरवका सम्पदा ध्वस्त भएका छन्’ उनले भने, ‘परम्परागत मौलिक शैलीमा ती सम्पदाको पुनर्निर्माण गर्न निकै समय लाग्छ ।’ केही संरचना ठाडै देखिए पनि चर्किएका छन् । तिनको तत्काल जीर्णोद्वार नभए भत्कने अवस्थामा पुगेका छन् । उनले आइतबारदेखि सम्पदा संरक्षण, संवद्र्धनका लागि टोली गठन गरेर काम थालिएको उनले बताए । उपत्यका बाहिरका मन्दिर, पुराना दरबारको अवस्थाबारे जानकारी लिन कर्मचारी पठाइसकेको उनले जानकारी दिए । 



पूर्णरूपमा भत्किएका संरचनालाई सात वर्षभित्र पुनर्निर्माण गरिने उनको भनाइ छ । ‘निर्माण गर्न विदेशी दाताले सहयोग गर्ने प्रतिबद्धता दिएका छन्,’ उनले भने, ‘विस्तृत अध्ययनपछि मात्र सहयोग आह्वान गर्छाैं ।’ सामान्य क्षति भएका संरचनाको जीर्णोद्वारका लागि विस्तृत इन्जिनियरिङ अध्ययन गरेर कार्ययोजना निर्देशन दिइसकिएको उनले बताए । हनुमानढोका दरबारको पूर्वी क्षेत्र, विष्णु मन्दिर, भगवती मन्दिर, महादेव मन्दिर, गद्दी बैठक, नौतले दरबारसँगैको भवन, नगराघर, सुन्दरीचोक, मूलचोकलगायत पुरातात्त्विक सम्पदा आंशिक रूपमा भत्किएका छन् । नासल चोकको पश्चिम