भूकम्पबाट धादिङ नराम्ररी प्रभावित, मानवीय र भौतिक क्षतिका कारण जनजीवन अस्तव्यस्त

An aerial view of houses damaged by Saturday's earthquake is seen in Dhading, Nepal

धादिङमा Photo: REUTERS/Danish Siddiqui

 

काठमाडौ  – बैशाख १२ गतेको विनाशकारी भूकम्पको धक्काले धादिङ नराम्ररी प्रभावित भएको छ । मानवीय र भौतिक क्षतिका कारण जनजीवन अस्तव्यस्त बनेको छ । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार ३ लाख ३८ हजार ६ सय ५८ जना यस जिल्लामा बसोबास गर्छन् । कूल ६२ हजार ७ सय ५९ घरधुरीमध्ये धेरै घर खण्डहर बनेका छन् ।



जिल्ला प्रहरी कार्यालयको रेकर्ड अनुसार सोमबार अपरान्हसम्म ६८० जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमध्ये बालिका ५७ जना, बालक ६० जना, महिला १७६ जना, पुरुष १५६ जना र बाँकीको पहिचान खुल्न नसकेको धादिङका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश मल्लले जानकारी दिए । उनका अनुसार १ नम्बर क्षेत्रको सल्यानटार, २ नम्बर क्षेत्रको धादिङबेसी र ३ नम्बार क्षेत्रको गजुरीबाट राहत संकलन तथा वितरण कार्य भइरहेको छ । हेलिकप्टर आवश्यक पर्दा त्यसको व्यवस्था भने धादिङबेसीबाट हुने गरेको उनले जानकारी दिए ।



१ नम्बर क्षेत्रमा पर्ने तर सदरमुकामबाट नजिकै रहेको धुवाकोट गाविसमा राहत र उद्धार कार्य लगभग सकिएको उनले जानकारी दिए । जिल्लाका अन्य ठाउँमा पनि राहत र उद्धार कार्य तिब्रतासाथ भइरहेको छ । जिल्ला प्रशासन कार्यालयको अनुसार करिब १० हजार पाल बाँडिएको छ ।



सोमबार अपरान्हसम्मको रेकर्ड अनुसार जिल्लाको रि गाउँमा सबैभन्दा बढी ६५ जनाको निधन भएको उल्लेख छ । रि गाउँ सदरमुकाम धादिङबेसीबाट दुई दिन पैदल हिँडेपछि पुग्न सकिन्छ । त्यहाँसम्म पुग्न सडक यातायातको सुविधा नभए पनि किन्ताङफेदीसम्म सडक सफा गर्ने हो भने करिब ५ घण्टामा रि गाउँ पुग्न सकिन्छ । महाभूकम्पका कारण पहिरो गएकाले किन्ताङफेदी जाने कच्ची बाटो अबरुद्ध भएको छ । ईकान्तिपुरमा समाचार छ  ।