सर्वाधिक क्षति पुगेको सिन्धुपाल्चोकमा पुरिएकाको खोजी जारी, राहात सुरक्षामा चुनौती

Earthquake victims carry their belongings as they make their way through a collapsed house at a village in Sindhupalchowk

सिन्धुपाल्चोकमा Photo: REUTERS/Adnan Abidi !

 

बाह्रविसे / सिन्धुपाल्चोक –  महाभूकम्पका कारण मृत्यु भएका कूल संख्याको आधाभन्दा बढी सिन्धुपाल्चोकमा पुगेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार आइतबारसम्म सिन्धुपाल्चोकमा मृतक संख्या तीन हजार छ सय ६० पुगेको छ ।   



जिल्लाका २ नगरपालिका र ६८ गाविसमध्ये विकट क्षेत्रमा उद्धार कार्य जारी छ । हालसम्म अत्तरपुर, लिसंखु र ठूलोधादिङमा मात्र मृतक संख्या शून्य छ । सबैभन्दा धेरै मेलम्ची नगरपालिकामा २ सय ७४ जनाको मृत्यु भएको छ ।



अरनिको राजमार्गको अन्तिम भागतिर ठूलो-ठूलो पहिरो गएकाले अझै धेरै पुरिइरहेको अनुमान छ । शनिबारको दिन तातोपानी नुहाउन गएका धेरै बाटामा पुरिएको आशंका छ ।  तातोपानी, लिपिङ र कोदारी इलाकामा सकुशल अड्किएका करिब १५ सय जनालाई शनिबारसम्ममा हेलिकप्टरबाट उद्धार गरिएको छ ।  



उद्धार गरिएका घाइतेको उपचार जारी रहेको जानकारी उद्धार समितिले दिएको छ । समतिका अनुसार आइतबार हेलिकोप्टरबाट २९ जनाको उद्धार गरिएको छ । सदरमुकामको टुडिखेलमा नर्बे सरकारको सहयोगमा उपचार व्यवस्था मिलाइएको छ । 



कतिपय स्थानबाट खबर नआउँदा विरामीको उद्धार हुन कठिनाइ भएको छ । उद्धार समितिका अनुसार हेलिकोप्टर बस्न सक्ने र जानकारी भएसम्म उद्धारको प्रयास जारी रहने छ । विकट बस्तीहरुमा अझै उद्धार जारी राख्ने जानकारी सुरक्षा स्रोतले दिएको छ । 



प्रहरीका अनुसार जिल्लाको पश्चिमी भेकका २४ गाविसमा हालसम्म ४ सय ९७ जना विरामीलाई उद्धार गरी उपचारका लागि राजधानी र मेलम्ची पठाइएको छ । आइतबार यो क्षेत्रबाट पाँच जनाको उद्धार गरिएको छ ।