भूकम्प प्रभावितको खोज, उद्धार तथा राहतका लागि थप ५ अर्ब रुपैयाँ निकासा माग

काठमाडौं  । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सन्चालन केन्द्रले सरकारसँग भूकम्प प्रभावितको खोज, उद्धार तथा राहतका लागि थप ५ अर्ब रुपैयाँ निकासा माग गरेको छ ।
केन्द्रले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई पत्राचार गर्दै रकम माग गरेको हो । कोषले दुईपटक गरी २ अर्ब रुपैयाँ निकासा दिइसकेको छ ।
जसमध्ये भूकम्प प्रभावित विभिन्न जिल्लालाई राहत वितरणको लागि १ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ पठाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले औषधि उपचार, उपकरण खरिद गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ३ करोड, खोज, उद्धार तथा भग्नावशेष हटाउनसमेत नेपाल प्रहरीलाई १३ करोड र सशस्त्र प्रहरी बललाई १० करोड निकासा गरिएको छ ।
त्यसैगरी, मन्त्रालयले संकटग्रस्त जिल्लामा भूकम्पपीडितका लागि शिविर निर्माण, खानेपानी वितरण, सरसफाइ व्यवस्थापनसमेतको लागि सहरी विकास मन्त्रालयलाई १४ करोड निकासा दिइएको छ ।
मन्त्रालयले ७ हजार २ सय ४० मृतकको काजक्रियाका लागि प्रतिमृतक रु. ४ हजारका दरले जम्मा रु. २८ करोड ९६ लाख रुपैयाँ आवश्यक भएको जनाएको छ ।
पूर्णरुपमा क्षति भएका झन्डै १ लाख ८९ हजार घरलाई प्रतिघर ५ हजारका दरले ९४ करोड ७५ लाख ६५ हजार रुपैयाँ, आंशिकरुपमा क्षति भएका १ लाख ७१ हजार घरलाई प्रतिघर ३ हजारका दरले ५१ करोड ३३ लाख २१ हजार र पूर्णरुपमा घर क्षति भएका १ लाख ८९ हजार ५ सय १३ परिवारलाई प्रतिपरिवार २ हजारका दरले खाद्यान्नबापत ३७ करोड ९० लाख २६ हजार रुपैयाँ पनि माग गरिएको छ । –  इमेजखबरमा समाचार छ ।