महाभूकम्पदेखि परिवारका लागि कन्टेनर घर

बाह्रबिसे (सिन्धुपाल्चोक) – सिन्धुपाल्चोक बाह्रबिसेका रामबहादुर श्रेष्ठ (४२) को कन्टेनर तातोपानी नाकाबाट स्याउ बोकेर काठमाडौं ल्याउँदै गर्थ्यो । अढाई तले घरमा उनको परिवार हाँसीखुसी बसेको हुन्थ्यो । तर महाभूकम्पदेखि त्यो कन्टेनर उनको परिवारका लागि घर बनेको छ । त्यहींभित्र भात पकाउँछन्, खान्छन् । सुत्छन् । विनाशकारी भूकम्पले उनको १३ जनाको परिवार घरबाट कन्टेनरमा बसाइँ सरेको छ । बुढी आमासँगै ६ वर्षीया छोरीहरू सबैको गुजारा त्यसमै चलिरहेको छ ।
बाह्रबिसे बजारमा आधा सडक त भत्केका घरले यसै ढाकेका छन् । त्यसबाहेक किनारमा लस्करै कन्टेनर रोकिएका छन् । ती बाटो बन्द भएर वा अरू कुनै कारणले रोकिएका होइनन् । स्थानीयहरू घर भत्किएपछि सडकमा आइपुगेका हुन् । ना२ख ४२९३ नम्बरको कन्टेनरबाट कहिले घरमा सर्ने केही थाहा छैन ।