भारतीय एकजना चर्चित नेत्री एवम् पूर्व फिल्मी कलाकार जयललिता जयरामलाई भ्रष्टाचार मुद्दामा सफाइ

भारतीय एकजना चर्चित नेत्री एवम् पूर्व फिल्मी कलाकार जयललिता जयरामलाई भारतको अदालतले उनीविरुद्धको भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 
 
उनको भ्रष्टाचारसम्बन्धी मुद्दाको फैसला सोमबार सुनाउँदै उनलाई सो मुद्दामा सफाइ दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 
 
प्रारम्भिक अनुसन्धानका क्रममा भ्रष्टाचारको मुद्दामा उनी दोषी पाइएकी थिइन् । गएको सेप्टेम्बर महिनामा उनलाई पक्राउ गरी थुनामा राखिएको थियो । 
 
उनलाई गएको सेप्टेम्बर महिनामा प्रारम्भिक रुपमा चार वर्षको जेल सजाय सुनाइएको थियो । तर उनले भने त्यसका विरुद्धमा अपिल गरेकी थिइन् । 
 
उनले आफूलाई राजनीतिक विचारका आधारमा आरोप लगाइएको भन्दै यसका विरुद्धमा अभिव्यक्ति दिँदै आएकी छिन् । सो अपिलको सुनुवाइका क्रममा सोमबार अदालतले उनलाई सफाइ दिएको हो । 
 
गएको करिब दुई दशकसम्म विवादको विषय रहेको सो मुद्दामा आज गरिएको फैसला अर्थपूर्ण हुने बताइएको छ । 
 
भारतीय फिल्म जगतकी पूर्व कलाकारसमेत रहेकी जयललिताका बारेमा सोमबार गरिने फैसलाको निकै चासो लिइएको समाचारमा जनाइएको छ । 
 
भारतको दक्षिणी राज्य तामिल नाडूकी मुख्यमन्त्री रहेकी जयललिताले तामिल नाडूमा ठूलो लोकप्रियता कमाइरहेकी थिइन् । ६७ वर्षीया यी राजनीतिज्ञको राजनीतिक भविश्य अब भने स्पष्ट भएको छ । 
 
प्रहरीले आज उनलाई अदालतमा ल्याउने क्रममा सो क्षेत्रको सुरक्षा व्यवस्था निकै कडा पारेको बताएको थियो । उनका हजारौँ कार्यकर्ताले उनको समर्थनमा जुलुस निकालिरहेका छन् । 
 
उनीहरुले जयललिताको पक्षमा नाराबाजीगर्दै उनी निर्दाेष रहेको बताइरहेका छन् । साथै उनीहरुले राजनीतिक आश्थाका कारण उनीमाथि मुद्दा लगाइएको बताएका थिए । 
 
प्रहरी अतिरिक्त कमिसनर आलोक कुमारले उनलाई अदालतमा ल्याउने क्रममा कुनै अप्रिय घटना नहोस भनेर सो अदालत बाहिर निकै नै कडामात्रामा प्रहरी व्यवस्था गरेको र अदालतलाई घेरामा हाली सयौँ प्रहरी खटाइएको जानकारी दिए । 
 
उनको सुुनुवाइ हुन लागेको बैंगलोर अदालत तथा चेन्नई सहरका कैयौँ स्थानमा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । उनको पक्षमा चेन्नई सहरभरि सोमबार समर्थनमा जुलुस निस्किएका छन् । 
 
उनले लामो समयदेखि तामिल नाडूको मुख्यमन्त्रीका रुपमा पदमा रहेकी र आफू सत्तामा रहँदा अकुत सम्पत्ति कमाएको भन्दै सोबारेमा परेको मुद्दामा दोषी पाइएको बताइएको छ । 
 
यो फैसलासँगै अब उनलाई राजनीतिमा फर्किने बाटो खुलेको छ । यो फैसलापछि भारतका कैयौँ स्थानमा उनका पक्षमा प्रदर्शन गरिएको छ । 
 
चेन्नईमा उनका पक्षधरहरुले खुसियाली मनाएका छन् भने भारतका अरु स्थानमा पनि उनको पक्षमा जुलुस निस्किएका छन् । 
 
आफू सत्तामा रहँदा अकुत सम्पत्ति कमाएको उनीविरुद्धको आरोप पुष्टि भएपछि उनलाई जबर्जस्ती मुख्यमन्त्रीको पदबाट हट्नुपर्ने भएको थियो । अब भने उनले सफाइ पाएपछि राजनीतिमा प्रवेश पाउने निश्चित भएको छ । रासस/एएफपी