मंगलबार पुनः गएको शक्तिशाली भूकम्पपछि राष्ट्रपतिका साथै मन्त्रीहरु त्रिपालमा बास, त्रासका कारण आज पनि मुलुकभर खुला आकाशमुनि रात बिताउन वाध्य

 भूकम्पको त्रासका कारण काठमाडौंलगायत मुलुकभर मानिसहरु खुला ठाउँमा रात बिताएका छन । 
घरमा रात बिताउनेको संख्या ज्यादै न्युन छ। यसको असर भारतको बिहारमा पनि परेको छ। बिहारका कतिपय ठाउँमा मानिसहरु नेपालमा झै घर बाहिर नै बसेका छन्।
उता   मंगलबार पुनः गएको शक्तिशाली भूकम्पपछि राष्ट्रपति रामवरण यादवका साथै मन्त्रीहरु त्रिपालमा बस्न थालेका छन्। बैशाख १२ को महाभूकम्पबाट राष्ट्रपति निवास बस्न नहुने भएपछि पाँच दिनसम्म त्रिपालमा बसेका राष्ट्रपति शीतल निवासमा नै रहेको प्रभास हलमा बस्न थालेका थिए। हलसँगै रहेका सिंगार कोठालाई सयनकक्ष बनाउँदै आएका राष्ट्रपति यादव मंगलबारबाट पुनः त्रिपालमा बस्न थालेको निकट स्रोतको दाबी छ। झन्डै एक सय वर्ष पुरानो शीतल निवासको केही भाग बस्न योग्य नभएको प्राविधिक टोलीले बताएका छन्।
त्यस्तै, मन्त्री निवास पुलचोक बस्दै आएका मन्त्रीहरु मंगलबारबाट पुनः त्रिपालमा बस्न थालेका छन्। बैशाख १२को भूकम्पपछि लामो पालमा नै सुतेका मन्त्रीहरु केहीदिन देखिमात्र निवासभित्र सुत्न थालेपनि मंगलबारबाट सबै मन्त्रीहरु आफ्नो निवासअघिको बगैचामा त्रिपाल टाँगेर सुत्न थालेको एक मन्त्रीले बताए।
प्रधानमन्त्री सुशील कोइरालाले भने सरकारी निवासमा नै बस्दै आएक छन्। प्रधानमन्त्रीको निवासका लागि प्रयोग गरीएको भवन केही चर्केपनि कोइरालाले आफ्ना सहयोगीलाई समेत केही नहुने भन्दै आफ्नै सयन कक्षमा सुत्ने गरेको एक सहयोगीले बताए।  हामीले त त्रिपालमा सुत्न भनेका हौ तर उहाँ मान्नु हुन्न, ती सहयोगीले भने। नागरिकन्युजमा समाचार छ ।