एकीकृत माओवादी काठमाडौँद्दारा भूकम्पपीडितका लागि हालसम्म ५०० अस्थायी घर निर्माण

एकीकृत नेकपा (माओवादी) काठमाडौँले भूकम्पपीडितका लागि हालसम्म ५०० अस्थायी घर निर्माण गरेको छ। 
भूकम्पका कारण भत्किएका घरकै संरचना प्रयोग गरेर अस्थायी आवास निर्माण गरिएको पार्टीले जनाएको छ। काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा पहिलो चरणमा ५०/५० जनाको स्वयंसेवक टोली परिचालन गरिएको भए पनि बुधबारदेखि भने सय जनाको टोली हरेक निर्वाचन क्षेत्रमा परिचालन गरिएको छ। 
एमाओवादी काठमाडौँका जिल्ला अध्यक्ष हिमाल शर्माले वर्षाऋतु सुरु हुन लागेका कारण पाल तथा त्रिपालले समस्याको समाधान नहुने भएकाले तत्काल अस्थायी बसोबासका लागि विशेष व्यवस्था गर्न सरकारसँग माग गरिएको जानकारी दिए। 
एमाओवादीले चन्द्रागिरि, शङ्खरापुर नगरपालिकालगायत स्थानमा भने अस्थायी घरटहरा निर्माण गर्ने कामलाई विशेष प्राथमिकतामा राखेको छ।
अस्थायी घर तथा टहरा निर्माणका क्रममा स्थानीयवासीले हालसम्म पनि सरकारले प्रदान गरेको राहत नपाएको र राहत वितरणमा चरम राजनीतीकरण गरिएको गुनासो गरेको जानकारी दिए।
वाणभञ्ज्याङ, नाङ्लेभारे, दणिणकालीलगायत स्थानमा भने हालसम्म कुनै पनि सरकारी राहत नपुगेको र स्थानीयवासी खुला आकाशमा रात कटाउन बाध्य भएको जिकिर गर्दै उनले ती स्थानमा पार्टीका तर्फबाट केही राहत प्रदान गरिएको भए पनि पुग्दो नभएको बताए। भूकम्प प्रभावित नभएका स्थानबाट काठमाडौँलगायत जिल्लामा शुक्रबारदेखि नै थप १० हजार जनशक्ति परिचालन गरिने उहाँले जानकारी दिए। 
यस्तै एमाओवादीको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले पनि ३०/३० जनाको स्वयंसेवक टोली निर्माण गरेर अस्थायी आवास बनाउने कामलाई तीव्रता दिएको छ।
क्रान्तिकारीका अध्यक्ष रमेश मल्लका अनुसार सबैभन्दा बढी प्रभावित क्षेत्रमा आफ्ना सङ्गठनको स्वयंसेवक टोली पुगेर राहत वितरण गरिएको र अस्थायी आवास निर्माण गरिएको छ। रासस