काठमाडौ । वैशाख १२ गते आएको विनासकारी भूकम्पपछि बन्द रहेका शैक्षिक संस्थाहरु एक सातापछि सञ्चालन गरिने भएको छ । भूकम्पवाट त्रस्त जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख हुँदै गईरहेको भन्दै शिक्षण संस्थाहरु सूचारु गर्ने निर्णय गरिएको हो ।
निजी शैक्षिक संस्थाहरुको छाता संगठन अपिनको भूकम्प पीडित उद्धार मूल समितिको शनिबार बसेका वैठकले जेेठ १० गते आइतवारदेखि उच्च माध्यमिक विद्यालय, प्राविधिक शिक्षालय तथा कलेजहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै भूकम्पको त्रासदीले अनिश्चित बनेको विद्यालयहरु जेष्ठ १७ गते आइतवार देखि सुचारु गर्ने निर्णय गरिएको अपिन प्रचारप्रसार उपसमिति संयोजक रमेश सिलवालले जानकारी दिए ।
वैशाख १२ गतेको भूकम्पपछि त्रसित जनजीवन सामान्य हुँदै गएपछि जेठ १ गतेदेखि पठनपाठन सूचारु गर्ने तयारी भइरहँदा वैशाख २९ गतेको अर्को शक्तिशाली भूकम्पले गर्दा पठनपाठन अनिश्चित बनेको थियो ।
शिक्षा मन्त्रालयले भने जेठ १५ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । बैठकले मातहतका विद्यालयहरु, उच्च मावि, सीटीईभीटी मातहतका संस्था तथा कलेजहरुमा भएको जनधनको क्षतिको पूर्ण विवरण जेष्ठ ५ गतेसम्म संकलन गरी सार्वजनिक गर्ने निर्णय गरेको अपिनले जनाएको छ ।
शैक्षिक संस्थानहरुको पुनर्निर्माणका लागि कार्यदल
भूकम्पले शैक्षिक संस्थाका भवनहरु भत्किएकाले त्यससम्बन्धी छलफल गर्न कार्यदल गठन गरिएको छ । भूकम्पले क्षति पुर्याएका विद्यालय, उच्च मावि, प्राविधिक शिक्षालय र कलेजहरुको जिर्णोद्धार र पुनर्निर्माण्म गर्दै सुचारु रुपले संचालन गर्न कार्यदल गठन गरिएको हो ।
अल्पकालिन र दीर्घकालिन नीतिहरु निर्माण तथा सरकार र सरोकारवालाहरुसँग समन्वय गर्न कर्णबहादुर शाहीको संयोजकत्वमा समिति गठन गरिएको छ । सात सदस्यीय समितिमा रामेश्वर रिजाल, रमेश सिलवाल, डीके ढुङ्गाना, शम्भु दाहाल, वसन्तचन्द्र मरहट्टा र पंकज जलान सदस्य छन् । अन्लाईन खबरमा समाचार छ ।